भारतबाट फर्किएका १७५ क्वारेन्टाइनमा « Arthapath.com
१२ चैत्र २०७६, बुधबार

भारतबाट फर्किएका १७५ क्वारेन्टाइनमा



डोटी । छिमेकी मुलुक भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका जिल्लाका १७५ जना स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले दिनुभएको जानकारीअनुसार मङ्गलबार कैलालीको त्रिनगर भन्सार कार्यालय हुँदै डोटी आएका १७५ स्थानीयवासीलाई जिल्लाको बडीकेदार गाउँपालिकास्थित बिपीनगर, शिखर नगरपालिका तल्कोट र दिपायल सिलगढी नगरपालिका राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ ।

भारतका विभिन्न शहरमा काम गरेर स्वदेश फर्किएका सुदूरपश्चिम प्रदेशका ९९९ स्थानीयवासीलाई प्रदेश सरकारको निर्देशनमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा जाने गरी मङ्गलबार राति कैलालीबाट यहाँका पहाडी जिल्लामा पठाइएको थियो ।

यसै सिलसिलामा डोटीमा १७५ जना भारतमा काम गरी फर्किएका छन् । भारतबाट फर्किएकाहरु शिखर नगरपालिकाको तल्कोटमा रहेको क्वारेन्टाइनमा ७१, बडीकेदारको बिपीनगरमा ५१ र दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा निर्माण भएको क्वारेन्टाइनमा ५३ जना राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा राखिएकालाई सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले खाने बस्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा राखिएकालाई खाने बस्ने व्यवस्था सम्बन्धित स्थानीय तहले गरेको छ, केही दिन क्वारेन्टाइनमै राखिनेछ ।”

कोभिड–१९ को सचेतनास्वरुप यहाँका स्थानीय तहले आफ्ना स्थानीय तहका विभिन्न वडाका घर÷घरमा पुगेर भारतबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझावसमेत दिन थालेका छन् ।

भारतबाट आफ्नो गाउँ टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई आग्रह गर्नुभएको छ ।

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । क्वारेन्टाइनमा राखिएकालाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको छ ।

त्यसैगरी जिल्लामा भारतसहित देशका अन्य क्षेत्रबाट आएकाको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने समन्वय समितिका संयोजक ऐरले बताउनुभयो ।

दिपायल राजपुरको क्वारेन्टाइनमा राखिएकाको उपचार गर्ने स्वास्थ्य केन्द्रलाई आवश्यकतानुसारका स्वास्थ्य सामग्री दिपायल सिलगढी नगरपालिकाले उपलब्ध गराइएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “क्वारेटाइनमा बसेकाको स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री तथा औषधि उपलब्ध गराएका छौँ, आवश्यक परे जतिबेला पनि अन्य सामग्री प्रदान गर्न तयारी अवस्थामा छौँ ।” नगरपालिकाले साबुन पानीसहित हात धुने व्यवस्थाका लागि साबुन, सेनिटाइजर, मास्कसमेत प्रदान गरेको नगरप्रमुख मलासीले जानकारी दिनुभयो । त्यसैगरी स्थानीयवासी जम्मा हुने तथा बढी भीडभाड हुने ठाउँ तथा चोकहरुमा पनि साबुन पानीसहित हात धुने व्यवस्था मिलाइएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिनुभयो ।

लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, घर, टोल छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै प्रशासनको आग्रहलाई अटेर गरे कानूनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय नागरिकको ज्यानको सुरक्षाका लागि हामी आफ्नो ज्यान जोखिममा राखेर खटिएका छौँ, अटेरी गरे कानूनबमोजिक कारवाही गर्छौं ।” लकडाउनका कारण बजार सुनसान भएका छन् भने बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।रासस


प्रतिक्रिया दिनुहोस्