सरकारद्वारा खाद्य सामग्री भ्यानबाटै घर घर पुर्याउन निर्देशन « Arthapath.com
१३ चैत्र २०७६, बिहीबार

सरकारद्वारा खाद्य सामग्री भ्यानबाटै घर घर पुर्याउन निर्देशन



काठमाडौँ- गृह मन्त्रालयले लकडाउनका बेला खाद्य संकट टार्न दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्तिका लागि डेलिभेरी भ्यानबाट सेवा दिन खाद्य स्टोर तथा विक्रेतालाई निर्देशन दिएको छ।

त्यसका लागि खाद्य स्टोर तथा विक्रेताले टोल फ्री नम्बर वा अन्य नम्बरको प्रचार गरी सम्पर्कको माध्यम बनाउन निर्देशन दिएको छ। डेलिभरी भ्यानको सवारी पास जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने छ। पसलहरु सञ्चालन, माग संकलन र वितरणका लागि सुरक्षा व्यवस्था मिलाउन महानगरीय प्रहरी कार्यालयलाई जिम्मा दिइएको छ।

यसैगरी दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउन पनि निर्देशन दिइएको छ।

कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा ग‌ृह मन्त्रालयमा कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने Toll Free नम्बर ११४९ मा फोन गरी उजुरी गर्न सकिने र तत्काल कारबाही हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्