२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा (कुन कुन दिन के विदाको सुचिसहित) « Artha Path
१८ चैत्र २०७६, मंगलवार

२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा (कुन कुन दिन के विदाको सुचिसहित)




काठमाडौं । गृह मन्त्रालयले नयाँ वर्ष २०७७ को क्यालेण्डर सार्वजनिक गरेको छ । २०७७ सालमा ६४ दिन विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विदा तथा पर्वहरु सार्वजनिक गरेको हो ।
गृह मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची सार्वजनिक गरेको हो ।
वर्षभरीमा साताको ५२ वटा शनिबार बाहेक ६४ दिन सार्वजनिक बिदा दिने भएको छ ।
शनिबार बाहेक यी हुन बिदा हुने दिनहरु

यस वर्ष संविधान दिवस, दसैं र तिहारमा १÷१ दिन शनिबार पर्ने भएकोले कुल बिदा घटेर ६४ दिनमा आएको छ । नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (वैशाख २५), संविधान दिवस (असोज ३), दसैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुनेछ ।

त्यस्तै, महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते) तथा फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ । काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), ईन्द्रजात्रा (भदौ १६ गते) घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ ।

हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइनेछ । उभौली पर्व (वैशाख २५ गते), गौरा पर्व (भदौ १० गते), इदुल फित्र, छठपर्व (मंसिर ५ गते), क्रिसमस डे (पुस १० गते), उधौली पर्व (पुस १५ गते), माघेसंक्रान्ति (माघ १ गते), सोनाम ल्होसार (माघ ३० गते), ग्याल्पो ल्होसार (चैत १ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित वाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएका छ । जितिया पर्व (भदौ २५गते) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ ।

वसन्त पञ्चमीमा फापुन ४ गते शिक्षण संस्थाहरु बिदा हुनेछन् । अन्तर्रा्ष्ट्रिय अपाङ्ग दिवसमा मंसिर १८ मा अपाङ्गगता भएका कर्मचारीका लागि बिदा दिइनेछ । महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ ।

गणतन्त्र दिवस (जेठ १५ गते), जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस (जेठ २१ गते), निजामति सेवा दिवस (भदौ २२ गते), राष्ट्रिय एकता दिवस (पुस २७ गते), शहीद दिवस (माघ १६ गते) तथा राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते)लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन । सरकारका कुटनीतिक नियोगहरुलाई सम्बन्धित देशको बिदा अनुसार बढीमा १८ दिन अतिरिक्त बिदा आफैंले व्यवस्थापन गर्नसक्ने राजपत्रमा उल्लेख छ ।

कार्यालय समय विगतजस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म र अन्य समयमा १० बजेदखि ५ बजेसम्म हुनेछ । शुक्रबार आधा दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्