कुलमानको अर्काे छलाङ, विद्युत प्राधिकरणको नाफा १० अर्ब ६७ करोड « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

कुलमानको अर्काे छलाङ, विद्युत प्राधिकरणको नाफा १० अर्ब ६७ करोड



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्डअनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो ।

प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५÷७६ मा सात अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनले सरकारी संस्थानहरुमध्ये प्राधिकरणलाई एक नम्बरको संस्था बनाउनने घोषणा गरेका थिए ।

महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आव २०७५÷७६मा नौ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । योसँगै सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ। प्राधिकरणको जगेडा तथा संचित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ ।

आव २०७४÷७५ मा प्राधिकरणको खुद नाफा दुई अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो ।

आव २०७२÷७३ मा आठ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्राधिकरण कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछिका वर्षहरुमा फड्को मार्दै खुद नाफा उकालो लागिरहेको छ । ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ ।

प्राधिकरणले आव २०७३÷७५ र २०७४÷७५ मा खुद नाफा क्रमशः एक अर्ब ४६ करोड ७३ लाख र दुई अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा बृद्धि, प्राधिकरणका जलविद्युत आयोजनाहरुको उत्पादनमा बृद्धि, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

आव २०७२÷७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७५÷७६ मा आईपुग्दा १५.३२ प्रतिशतमा झरेको छ । घिसिङले निर्देशक हुँदा लोडसेडिङ अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्रतिबद्धता जनाएका थिए ।

उनले प्राधिकरणका आगामी दिन अझै सुनौला रहेको बताए । उनले अमेरिकी डलरमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएको ६० मेगावाट खिम्ती–१ विद्युत आयोजनाको आधा स्वामित्व प्राधिकरणमा आइरहेको बताए । पीपीए दर पनि नयाँ तय हुने भएकाले प्राधिकरणलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युतआयोजनाको पीपीए दर सस्तो भएकाले यसबाट प्राधिकरणको वित्तीय स्वास्थ्यमा ठूलो सकारात्मक प्रभाव पर्ने बताउदै यसका लागि मुलुकभित्र विद्युत् खपत बढाउन र बढी भएको विद्युत् निकासीको बन्दोबस्ती गर्नुपर्ने चुनौति रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्