चोर बाटो हुँदै भारतबाट नेपाल प्रवेश « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

चोर बाटो हुँदै भारतबाट नेपाल प्रवेश



सर्लाही । नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढेका छन् ।

मुख्य नाकाहरूमा दुवै देशका सुरक्षाकर्मी खटिएर ओहोरदोहोर ठप्प पारे पनि चोर बाटो हुँदै भारतबाट नेपाल आउनेहरू बढेका हुन् । भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका मजदुरहरू सर्लाही र महोत्तरीको सीमामा पर्ने हर्दी खोला हुँदै नेपाल प्रवेश गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् । यस्तै केही मानिस सीमा क्षेत्रको उखु र गहुँ खेतबाट जिल्ला प्रवेश गरिरहेका पाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा भारतका विभिन्न स्थानबाट लुकिछिपी गाउँ आइरहेकाले गर्दा जोखिम बढेको पर्सा गाउँपालिका९२, सङ्ग्रामपुरका युवा सतेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसरी लुकिछिपी आएकाहरू क्वारेन्टाइनमा नबसेर खुलेयाम हिँड्डुल गरिरहेका छन् ।

विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल रायले खेतबारीबाट लुकेर गाउँ प्रवेश गरेका र लकडाउन हुनुभन्दा दुई÷चार दिनअघि गाउँ आएकामाथि निगरानी गरिरहेको बताउनु भएको छ ।

सर्लाहीमा सङ्ग्रामपुरदेखि बलरासम्म ५१ किलोमिटर खुला सीमा नाका पर्छ । ती नाकाबाट मानिस प्रवेश गर्न नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भइरहेका छन् । सीमामा सशस्त्र प्रहरीले मात्रै २७ स्थानमा डिउटी खटाएको छ भने मोटरसाइकल र गाडीबाट २४ सै घण्टा गस्ती गरिरहेको जनाएको छ ।
सर्लाहीका सशस्त्र प्रहरी प्रमुख (एसपी) विनोदराज श्रेष्ठले लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गर्न खोज्दा पक्राउ परेका एक जनालाई क्वारेन्टाइनमा राखिएको र केहीलाई भारततर्फ नै पठाइएको समाचार गोरखापत्रले समाचार प्रकाशन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्