अधिकांश स्थानीय तहमा पहिलो चरणको राहत वितरण « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

अधिकांश स्थानीय तहमा पहिलो चरणको राहत वितरण



काठमाडौं । रुपन्देहीका अधिकांश स्थानीय तहले लकडाउनका कारण प्रभावित वर्गलाई पहिलो चरणको राहत वितरणको काम सकेका छन् ।

जिल्लाको सैनामैना नगरपालिकामा २ हजार ८ परिवारलाई १४ हजार ७६२ किलोग्राम चामल, २ हजार ८ किलो दाल, २ हजार ८ किलो नून, २ हजार ८ लिटर खाने तेल र २ हजार ८ थान हात धुने साबुन वितरण भएको छ । सो नगरपालिकाका सूचना अधिकारी केशव अर्यालका अनुसार कूल ११ वडा रहेको सो नगरपालिकामा सबैभन्दा बढी वडा नं ९ मा २७२ र सबैभन्दा कम वडा नं ७ मा ७८ परिवारलाई राहत वितरण गरिएको छ ।

शुद्धोधन गाउँपालिकामा ८०० घर परिवारलाई प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नून वितरण भएको गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिनुभयो ।

कञ्चन गाउँपालिकामा ९९७ परिवारलाई १५० क्विन्टल चामल, प्रतिपरिवार १५ किलोग्राम, १ हजार किलो दाल, १ हजार लिटर तेल, १ हजार किलो नुन र १ हजार थान हात धुने साबुन वितरण भएको अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जानकारी दिनुभयो । “अझै छुट भएका १५० परिवारलाई पुनः वितरण गर्ने तयारीमा छौ” उहाँले भन्नुभयो ।

सिद्धार्थनगर नगरपालिका, भैरहवामा १ हजार ७४३ परिवारलाई अहिलेसम्म १२ हजार २८० किलो चामल, १–१ किलो, दाल, नून र १ लिटर तेल वितरण भएको छ । बाँकी रहेका १८१ परिवारलाई आज वितरण गर्ने तयारी रहेको बताइएको छ ।

सीयारी गाउँपालिकामा ७०० घरपरिवारलाई राहत वितरण गरिएको छ । १०० क्विन्टल चामल, १३ क्विन्टल दाल, १२ क्विन्टल, नून वितरण भएको अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो । हामीले पहिलो चरणको राहत वितरणपछि दोस्रो चरणको तयारी गरेका छौँ ।” उहाँले भन्नुभयो ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन लकडाउन गरेपछि दैनिक ज्यालादारी र मजदुरी गर्ने र छान टार्न समस्या हुने विपन्न समुदायका व्यक्तिलाई सबै स्थानीय तहले विपद् तथा प्रकोप वयवस्थापन कोषबाट राहत वितरण गरेका हुन् । जिल्लामा रातह पाउने अधिकांश दलित, थारु, मधेसी, मुसहर, हरुवा, चरुवा छन् ।रासस


प्रतिक्रिया दिनुहोस्