हुम्लामा १४१ शय्याको क्वारेनटाइन, बाहिरबाट आएका ८६१ गाउँ डुल्दै « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

हुम्लामा १४१ शय्याको क्वारेनटाइन, बाहिरबाट आएका ८६१ गाउँ डुल्दै



सिमकोट। हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन ती गाउँपालिकाका ४४ वडामा १४१ शय्याको क्वारेन्टाइनस्थल तयार गरिएको हो । तर, क्वारेन्टाइनमा आधारभूत सुविधासमेत नभएपछि यहाँका स्थानीयले बस्न नमानेको बताइएको छ ।

सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले केही दिन अगाडिदेखि महिनाको ३० हजार तिर्ने गरी घर भाडामा लिएर १६ बेडको क्वारेनटाइन बनाएको पालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिनुभयो । वडा नं। १ जैर पाँच शय्याको, वडा नं ५ गोठीमा ५ शय्याका र गाउँपालिका केन्द्रमा १६ शय्याको गरेर ३१ शय्याको क्वारेनटाइन तयारी अवस्थामा रहेको भएपनि भारतबाट मजदुरी गरेर फिर्ता भएका कोही पनि बस्न नमानेको अधिकृत शाहीले बताउनुभयो ।

ताजाँकोट गाउँपालिकाले वडा नं। ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नं।३ को नाउँलीमा क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष बाग्दल मल्लले बताउनुभयो । जिल्लामा १४१ क्वारेन्टाइनमध्ये ५० वटा क्वारेन्टाइन सिमकोट गाउँपालिकामा छन् । नाम्खामा ३१, अदानचुलीमा २५, चङ्खेलीमा दुई, खार्पुनाथमा तीन, ताजाँकोट चार र सर्केगाडमा २६ वटा क्वारेन्टाइन तयार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका रामप्रसाद घर्तीमगरले बताउनुभयो ।

जिल्ला बाहिरबाट आएका र विदेशबाट आएका आ–आफ्नै घरमा बस्दै आएका कारण सातवटै गाउँपालिकामा तयार गरिएका क्वारेनटाइन खालि भएको छन् । जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहर र मजदुरीका लागि भारतबाट हुम्ला फर्किएका ८६१ जना हुम्ला प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन गाउँपालिकाका क्वारेनटाइन मात्रै प्रयोगमा

सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा तयार भएका क्वारेनटाइन प्रयोगमा आएका छन् भने अन्य पालिकामा रहेका क्वारेनटाइन खाली छ । जिल्ला बाहिरबाट आएका गाउँमा तयार पारिएको क्वारेन्टाइनमा बस्न नमान्दा अधिकांश क्वारेन्टाइनस्थल भने रित्तै छन् । सिमकोट गाउँपालिकमा निर्माण गरिएका ५० शय्याको क्वारेन्टाइनमा हालसम्म ३० जना बसेका छन् भने तल्लो बजारमा रहेको जिल्ला अस्पताल नजिक चर्चमा नौ जना बसेका छन् ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ्गमा एक जना, हेप्कामा पाँच जना, धिगा छ जना, केर्मीमा दुई जना गरेर १४ जना मात्रै क्वारेनटाइनमा बसेको सोही पालिका स्वास्थ्य शाखा संयोजक नर भण्डारीले बताउनुभयो । तीन गाउँपालिकामा अहिलेसम्म ७२ जनालाई क्वारेनटइनमा राखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्