६५ घरलाई वडाले ५० मास्क वितरण गरेपछि स्थानियले खिल्ली उडाए « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

६५ घरलाई वडाले ५० मास्क वितरण गरेपछि स्थानियले खिल्ली उडाए



काठमाडौं । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कारण यतीवेला विश्व त्रसित बनिरहेको छ । नेपालमा पनि हालसम्म ९ जना संक्रमित फेला परेका छन । जसमध्ये सुदूरपश्चिममा मात्रै ४ जनामा संक्रमण भएको छ । देशभरीमै सुदूरपश्चिम यतीवेला उच्च जोखिममा रहेको छ ।

जोखिम बढेसँगै यहाँका पालिकाहरु कोरोना रोकथाम तथा नियन्त्रणमा लागी परेका छन । कतै क्वारेन्टाईन स्थापना गरीदै छन भने कतै विदेशबाट आएकाहरुको खोजी कार्य पनि भईरहेको छ । प्रदेशकै उच्च जोखिममा रहेको कैलालीका केही स्थानिय तहहरुले भने प्रभावकारी कदम चाल्न सकेका छैनन ।

कैलालीको चुरे गाउँपालिका वडा नं. ५ मा गरिएको मास्क वितरण कार्य आफैँमा हाँस्यास्पद र लज्जासपद रहेको स्थानिय बासिन्दाले टीप्पणी गरेका छन । वडा नं. ५ कै एक गाँउमा ६५ घरपरीवार रहेकोमा वडाले ५० मास्क वितरण गरेपछि स्थानियले यसलाई मजाकका रुपमा लिएका छन । तर वडा अध्यक्ष नरबहादुर तामाङले भने आफुहरुसँग मास्कको अभाव भएकोले उपलब्ध गराउन नसकिएको बताएका छन । आवश्यक परेमा जसरी भएपनि उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

साथै यस क्षेत्रमा रहेका विपन्न परीवारको तत्थ्याङ्क संकलन गरी राहात वितरण गरीरहेको पनि अध्यक्ष तामाङले जानकारी दिए । वडा भित्र स्थापना गरीएका क्वारेन्टाईनमा हालसम्म कसैलाई पनि नराखिएको समेत उनले बताए । चुरेगाउँपालिकामा पनि भारतबाट थुप्रै नेपालीहरु भित्रिएको तर उनीहरुको खोजी कार्य तथा तथ्याङ्क संकलन नभएको स्थानियले गुनासो गरेका छन । हालसम्म भारतबाट आएकाहरुमा नै संक्रमण देखिएको भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन ।


प्रतिक्रिया दिनुहोस्