प्रदेश युवा परिषदको सदस्यमा बझाङबाट झलक भण्डारी नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेश युवा परिषदको सदस्यमा बझाङबाट भण्डारी नियुक्त भएका छन् । प्रदेश युवा परिषदमा बझाङबाट झलक भण्डारी सदस्यमा नियुक्त भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले युवा परिषदमा भण्डारीसहित १७ जना नियुक्त गरेको हो । जसमध्ये भण्डारीसहित १३ जनाले मंगलबार सपथ लिएका छन् । ४ जना सदस्यले भने विभिन्न कारणले सपथ लिन ढिलाई भएको परिषदका उपाध्यक्ष युवराज कुँवरले बताएका छन् ।
मंगलबार युवा परिषद सदस्य पदको सपथ लिएका बझाङका झलक भण्डारीले युवाहरूको हितमा काम गर्ने बताएका छन् । भण्डारी लामो समयदेखि विद्यार्थीको हकहितमा काम गर्दै आएका छन् । तत्कालीन समयमा अनेरास्ववियु बझाङको नेतृत्व गर्दा उनले शिक्षामा हुने विकृतिका बारेमा खुलेर विरोध गरेका थिए ।
विद्यालय समयदेखि नै गलत कामका विरुद्ध खरो रुपमा उत्रिने भण्डारी साहसी र निडर स्वभावका व्यक्ति हुन् । सक्रिय राजनीति गरिरहेका भण्डारीले जिल्लामा हुने जुनसुकै गतिविधिलाई नजिकबाट नियालेका छन् ।
झलक भण्डारी २०६८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) बझाङको अध्यक्ष पदमा रहेर कुशल नेतृत्वको भूमिका निर्वाह गरेका थिए । २०७१ सालमा नेकपा एमाले निकट युवा संघ नेपालको केन्द्रिय सदस्य समेत रहेका भण्डारी जिल्लामा सक्रिय राजनीति गरिरहेका छन् ।
बझाङको प्रतिनिधित्व गर्दै आगामी दिन युवाका लागी विशेष योजना ल्याउने तयारी रहेको भण्डारीले बताए ।
