सञ्चालक समितिको दबाबमा नेपाल लाइफको सीईओ प्रसाइले दिए राजीनामा, ढकालको होला त इन्ट्री ?

काठमाडौँ । नेपालको जीवन बिमा बजारको सबैभन्दा ठुलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सीईओ सन्तोष प्रसाइले राजीनामा दिएका छन् । तिन महिनादेखि सञ्चालक समितिसँग खटपट परेपछि प्रसाइले हिजो आइतबार राजीनामा दिएका हुन ।
प्रसाइ ८ महिना अघि मात्रै सीईओमा नियुक्त भएका थिए । कम्पनीमा सञ्चालक समितिबाट अनावश्यक हस्तक्षेप बढेपछि प्रसाइ बाहिरिएका हुन् । सीईओले संस्था प्रोफेसनल चलाउन खोजेपछि सञ्चालक समितिको हस्तक्षेपका कारण कम्पनीले पछिल्लो समय राम्रो गर्न सकेको थिएन ।
प्रसाइ बिमा समितिबाट साँढे २ वर्ष अघि नेपाल लाइफ प्रवेश गरेका हुन् । करिव डेढ वर्ष डेपुटी सीईओ रहेका प्रसाइलाई ८ महिनाअघि मात्रै संचालक समितिले सीईओमा नियुक्ती गरेको थियो । कम्पनीमा रहेका केही सिनियर कर्मचारी सञ्चालक समितिसँग कुन नमिलेपछि बाध्य भएर प्रसाइले राजीनामा दिएका हुन् । गत जेठमा सीईओ प्रसाइले मौखिक राजिनामा दिएका थिए ।
प्रसाइको राजीनामा अघिनै सञ्चालक समितिले नयाँ सीईओको बारेमा छलफल गरेको थियो । केही सञ्चालकहरूले नयाँ सीईओको लागी हाल नविल बैङ्कका जिएम रहेका मनोज ज्ञवाली र ग्लोबल आइएमई बैङ्कका डेपुटी सीईओ रहेका महेश ढकाललाई अफर गरेका थिए । ज्ञवालीले अफर अस्वीकार गरे भने ढकाल राम्रो अफर आए तयार रहेको बताएका छन् ।