संकटमा अर्थतन्त्र, सात महिनामा १ खर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ भित्रियो, सवा १० खर्ब व्यापार घाटा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

संकटमा अर्थतन्त्र, सात महिनामा १ खर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ भित्रियो, सवा १० खर्ब व्यापार घाटा



काठमाडौं । विभिन्न प्रकारको पेट्रोलियम पदार्थ ७ महिनाको अवधिमा १ खर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को सात महिनामा पेट्रोलियम पदार्थ कुल १ खर्ब ४१ अर्ब २२ करोड १७ लाख १२ हजार रुपैयाँ बराबरको आयात भएको हो । ।

यो ७ महिनाको अवधिमा ७२ अर्ब ९६ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । भने ३३ अर्ब ५६ करोड रुपैयाँको पेट्रोल आयात भएको हो । त्यस्तै एलपिजी ग्यास ३४ अर्ब ६९ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

चालु आर्थिक वर्ष आयात चुलिएको छ । चालु आवको ७ महिनासम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भइसकेको छ । गत आवको यसै अवधिमा मात्र ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अहिले गत आवको यसै अवधिको तुलनामा ४२.७८ प्रतिशतले वस्तु आयात बढेको छ । आयात र निर्यात दुवैमा भएको वृद्धिले वैदेशिक व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ । आवको पहिलो ७ महिनामै १ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म कुल १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८८.३० प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा मात्र ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यो वर्ष वनस्पती तेलको हिस्सा सर्वाधिक रहेको छ । सोयाविनको तेल र पाम आयलको तेलले निर्यातमा भूमिका खेलेको हो ।

नेपालको वैदेशिक व्यापार ७ महिनामै पौने १२ खर्बको हाराहारीमा पुगेको छ । ७ महिनाको अवधिमा कुल १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६.४३ प्रतिशतले बढी हो । गत आवमा मात्र ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागसँग रहेको छ ।

७ महिनामै लगभग सवा १० खर्ब व्यापार घाटा

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म नेपालको व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ३८.४५ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा नेपालको व्यापार घाटा मात्र ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा केही घट्दा (–२.४९ प्रतिशत) निर्यातको हिस्सामा भने २८.६० प्रतिशतको वृद्धि देखिएको छ ।

यस्तो छ ७ महिनाको वैदेशिक व्यापार
आयात : ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ (४२.७८ प्रतिशत बढेको)

निर्यात : १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ (८८.३० प्रतिशत बढेको)

व्यापार घाटा : १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ (३८.४५ प्रतिशत बढेको)

कुल वैदेशिक व्यापार : १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ (५४.८६ प्रतिशत बढेको)

व्यापारमा आयातको हिस्सा : ८०.७१ प्रतिशत (२.४९ प्रतिशत घटेको)

व्यापारमा निर्यातको हिस्सा : १०.२९ प्रतिशत (२८.६० प्रतिशतले बढेको)

३६ अर्ब बराबरको सोयाविनको तेल बाहिरियो

विभिन्न वस्तु बाहिरीने क्रममा सबै भन्दा बढी मात्रामा ७ महिनाको अवधिमा सोयाविनको तेल ३६ अर्ब रुपैयाँ निर्यात भएको छ । विगतमा निर्यात बजारले खासै प्रभाव नपारे पनि अहिलेको अवस्थामा भने निर्यात पनि बढ्दो मात्रामा रहेको छ । यो वर्षको पहिलो ७ महिनामा भने निर्यातमा सुधार भएको पाइएको हो ।

यो अवधिमा ३६ अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बराबरको सोयाविनको तेल निर्यात भएको छ । गत बर्षको तुलनामा यो निर्यात दोब्बर नै हो । नेपालको वैदेशिक व्यापार भारतसँग बढी निर्भर रहेको छ । सोहीकारण आयात र निर्यात दुबैमा भारतको हिस्सा अधिक रहेको विभागको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्