कार्यकाल थपेको २ दिनमै फुयाँलको राजीनामा, को बन्ला आईएमई लाइफको सिईओ ?
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीइओ) कवि फुयाँलले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा आज आइतबार सञ्चालक समितिले स्वीकृत गरेको छ ।
२०७७ साल भदौ ३ गते उनी आइएमई लाइफको सीईओ बनेका थिए । उनको कार्यकाल २०८१ भदौ ५ गतेसम्म थियो । संयोगनै मान्नुपर्छ त्यही भदौ ५ गते नै कम्पनीले तत्कालीन आइएमई लिमिटेडको सीइओ रहेका खिलेन्द्र पौडेललाई डिसिईओमा नियुक्त गरेको थियो ।
५ गते नै फुयाँलले कम्पनीमा लामो समयदेखि कार्यरत रहेका दिनेश अमात्य र खिलेन्द्र पौडेललाई डिसिईओमा नियुक्त गरेको थियो । पौडेल भित्रिएको २ दिनमै फुयाँलले राजीनामा दिएका छन् ।
पौडेललाई भावी सिईओ बन्ने गरी आइएमई लाइफ भित्र्याइएको बीमा बजारमा सर्वत्र चर्चा छ । आइएमई मनि ट्रान्सफरको सिईओ रहेर काम गरेका पौडेल नयाँ क्षेत्रमा आफू चुनौतीका साथ काम गर्न आएको बताएका थिए ।
कम्पनीले भावी सिईओमा पौडेललाई बनाउने अनुमान गरिएको छ । तर कम्पनीमा उनिभन्दा सिनियर दिनेश अमात्य रहेका छन् । एकै पटक बीमा बजारमा प्रवेश गरेका पौडेललाई सिईओ बनाउँदा कम्पनीमा अन्य काम गर्ने कर्मचारीहरूको मनोबल घट्न सक्छ ।
फुयाँलको दोस्रो कार्यकाल यही भदौ ५ गतेदेखि लागु हुने गरी रिन्यु भएको थियो तर उनले ७ गते नै राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
दोस्रो कार्यकाल रिन्यु भैसकेको अवस्थामा कम्पनीले फुयाँलको कार्यकाल समाप्त भएको झुठो विवरण नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पठाएको छ ।
कम्पनीको नेतृत्व लिएको ४ वर्षमा फुयाँलले आइएमई लाइफलाई तीव्र गतिमा व्यवसाय विस्तार गराएका थिए । गत आवको वित्तीय विवरणमा पनि कम्पनीले डवल ग्रोथ गरेको छ ।
पछिल्लो समय बीमा बजारमा सिईओ हट्नु र हटाइनु नौलो कुरा होइन । अमेरिका रहेका बेला बीमा प्राधिकरणको अध्यक्षको कुरा काटेकै आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्सबाट विजय शाहले पनि कम्पनी छाड्नु प¥यो ।