आइएमई लाइफको सीइओ बने खड्का
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् ।
बिहीबार बसेको कम्पनी संचालक समितिको बैठकले खड्कालाई सीइओ पदमा नियुक्ति गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।
खड्का सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर डेपुटी सीइओ हुन् । उनले सूर्यज्योति लाइफ छोडेर आइएमई लाइफको सीइओ बनेका हुन् ।
उनी जीवन बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । बीमा कम्पनीको उच्च व्यवस्थापनमा रहेर कुशल ढंगले जिम्मेवारी पुरा गरेका छन् । उनले व्यवस्थापन विषयमा स्नातकोत्तर र एसीसीए गरेका छन् । यसअघि सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतको भूमिका पनि कुशलता पूर्व निर्वाह गरेका छन् ।
खड्काले नेपाल लाइफ इन्स्योरेन्समा पनि काम गरेका थिए । खड्कासँग बीमासहित जलविद्युत, उत्पादन तथा प्रशोधन, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा डेढ दशकको लामो अनुभव छ ।
हाल आइएमई लाइफको कायममुकायम (कामु) सीइओको जिम्मेवारी डेुपटी सीइओ दिनेश बहादुर अमात्यले सम्हाल्दै आएका थिए । गत भदौ ६ गते आइएमई लाइफका सीइओ कवि फुँयाल आफ्नो चार वर्षे कार्यकाल सकिएपछि डेपुटी सीइओ अमात्यले कामु सीइओ जिम्मेवारी पाएका हुन् ।