सोह्र महिनापछि पायो राष्ट्रिय जीवन बीमा कम्पनीले सीईओ, पन्थीले मारे बाजी

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले (राष्ट्रिय बीमा संस्थान) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद रिक्त भएको १६ महिना पछि बल्ल नयाँ नेतृत्व पाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबार नयाँ सीईओ पदमा सुन्दर पन्थीलाई नियुक्त गरेको छ ।
यसअघि आवेदन मागिए पनि प्रक्रिया रद्द भएपछि अन्ततः गत मंसिर ६ मा कम्पनीले पुनः एक पटक सीईओका लागि आवेदन मागेको थियो । त्यसबेला सुन्दर पन्थी, प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल, लक्ष्मण पराजुली लगायत ८ जनाको आवेदन परेको थियो ।
त्यसपछि सञ्चालक समितिले महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थीलाई संक्षिप्त सूचीमा राखेर नाम प्रकाशित गरेको थियो ।
उनीहरुलाई यही माघ ४ मा प्रस्तुतिकरणका लागि र माघ ५ मा अन्तरवार्ताका लागि बोलाइएको थियो ।

प्रस्तुतीकरण पश्चात् रामदेव यादवलाई हटाएर बाँकी तीन जनाबाट अन्तरवार्ता लिइएपछि मंगलबार बसेको सञ्चालक समिति बैठकले पन्थीलाई नयाँ सीईओ नियुक्त गरेको हो ।
१६ महिनादेखि रिक्त थियो पद
सरकारले तत्कालिन राष्ट्रिय बीमा संस्थानलाई २०८०, कात्तिक २० मा कम्पनीको रुपमा दर्ता गरेको थियो । यसरी १६ महिनाअघि संस्थानबाट कम्पनीमा परिमार्जन भएसँगै तत्कालिन प्रशासक कवि पाठकको कार्यकाल स्वतः समाप्त भएको थियो ।
त्यसयता नायब महाप्रबन्धक महेश रिमालले निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर संस्था हाँक्दै आएका थिए । २०७७ मा नायब महाप्रबन्धकमा बढुवा भएदेखि नै उनले कम्पनीको लामो समयदेखि बाँकी रहेको लेखापरीक्षणको कामलाई तीव्रता दिएका थिए ।
अहिले सीईओ बन्ने दौडमा उनी पनि संक्षिप्त सूचीमा परेका थिए । तर अन्तिममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पन्थीलाई रोजेका हुन् ।
प्रत्यासीको पृष्ठभूमि
सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । उनी अहिले बैंकको बरिष्ठ प्रबन्धकको रुपमा बैंकको अपरेशन डिपार्ट सम्हालिरहेका छन् । स्थायी ठेगाना अर्घाखाँची रहेका पन्थीले त्रिभुवन विश्वविद्यालयबाट एमए र एमबीएको डिग्री हासिल गरेका छन् ।
त्यस्तै, हाल निमित्त प्रमुख कार्यकारी रहेका महेश रिमाल चार्टर्ड एकाउण्टेन्ट हुन् । उनी संस्थानमा सीधै सहायक प्रशासक पदमा प्रवेश गरेका थिए । चितवन स्थायी घर भएका उनले मुम्बई विश्वविद्यालयमा अध्ययन गरेका थिए भने भारतबाटै चार्टर्ड एकाउन्टेन्सी पास गरेका थिए ।
अर्का प्रत्यासी राजुनाथ खनाल तनहूँका हुन् । उनले ६ वर्ष अघि नै नेपाल बैंकको डेपुटी सीईओबाट अवकाश पाएका थिए ।