नेपाली सेनाको मुख्यालय निर्माणको भुक्तानी नपाएको भन्दै प्रदर्शन « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

नेपाली सेनाको मुख्यालय निर्माणको भुक्तानी नपाएको भन्दै प्रदर्शन



काठमाडौं । मजदुरहरुले नेपाली सेनाको मुख्यालय (हेडक्वार्टर) निर्माणको भुक्तानी नपाएको भन्दै प्रदर्शन गरेका छन । निर्माणमा संलग्न सहायक ठेकेदार, सप्लायर्स, मजदुरले लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै भद्रकाली अगाडि प्रदर्शन गरेका हुन् ।

निर्माण कार्य सकेको ९ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि धर्नामा बसेको सहायक ठेकेदार रमेश शिवकोटीले बताए ।

उनीहरूले ‘मजदुर मार्न पाइँदैन’, ‘भुक्तानीको ग्यारेन्टी गर’लगायतका प्लेकार्ड बोकेका छन् । बिहान १० बजेदेखि सुरु धर्ना १२ बजेसम्म जारी रहने सहायक ठेकेदार शिवाकोटीले जानकारी दिए ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन बनेको हो । गोरखा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृतमध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं ०७३ जेठ २४ गते निर्माण सुरु भएको उक्त भवन दुई वर्ष १० महिनाको अवधिमा तयार गरेको हो । उक्त भवन निर्माणका लागि दैनिक ४०० को सख्यामा जनशक्ति अहोरात्र खटिएका थिए ।

नयाँ भवनबाट दैनिकरूपमा १ हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्नसक्ने छन ।
सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु ३ अर्ब ४४ करोड रकम विनियोजन गरेको थियो । भूकम्पप्रतिरोधात्मक उक्त भवनमा क्यूविकलसहित ४ सय ३० कोठा रहेका छन ।

उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ । अलग÷अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ ।


प्रतिक्रिया दिनुहोस्