कर्णालीमा प्रादेशिक विश्वविद्यालयको डिपिआर गर्न १ करोड « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

कर्णालीमा प्रादेशिक विश्वविद्यालयको डिपिआर गर्न १ करोड



काठमाडौं । कर्णाली प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरू भएको छ । पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउन सरकारले प्रक्रिया अगाडि बढाएको छ ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक प्रविधि विश्वविद्यालय स्थापनाका लागि सम्बन्धित विधेयक तयार पार्न सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिइसकेको छ ।

फागुन ५ गते बसेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालय स्थापनाका लागि आवश्यक विधेयक तयार पार्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

कर्णाली प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमा करिब ३४ अर्ब बजेटमध्ये पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सैद्धान्तिक स्वीकृति पाएसँगै सामाजिक विकास मन्त्रालयले विधेयक बनाउन सुरू गर्ने भएको छ ।

अहिले चलिरहेको प्रदेश सभाको अधिवेशनमा नै पेश गर्नेगरी विधेयक बनाउन लागिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्