एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत विशेष कक्षा « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत विशेष कक्षा



काठमकाडौं । स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत ‘विशेष कक्षा’ सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर महामारीको रूप लिइरहेको बेला एसइईको अन्तिम तयारीको अवस्थामा अकस्मात परीक्षा स्थगन भएपछि विद्यार्थीमा रहेको निराशा हटाई थप उत्साहित बनाउँदै पुनर्ताजगी बनाउने उद्देश्यले ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“कोभिड–१९ का कारण तयारी पूरा हुँदाहुँदै पनि विद्यार्थीहरू एकान्तबासमा हुनुहुन्छ”, नगरप्रमुख खाँणले भन्नुभयो, “उहाँहरुले सिकेको ज्ञान सीप कोभिड–१९ को महामारीसँगै एकान्तबासका कारण भुल्दै जाने अवस्था आउन सक्ने भएकाले पुनर्ताजगी प्रदान गर्नमा मद्दत गर्ने उद्देश्यले ‘विशेष कक्षा’ सञ्चालनको योजना बनाएका हौँ”, उहाँले भन्नुभयो ।

आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्दै अहिलेको विषम परिस्थितिमा सूचना प्रविधिको भरपूर सदुपयोग गरी रेडियो तथा टेलिभिजनबाट पढ्ने र पढाउने कार्य गर्न लागिएको नगरप्रमुख खाँणले बताउनुभयो ।

“विश्वभर कोरोना भाइरसको महामारीका कारण एसइई परीक्षामा सहभागीमा हुन नपाएका वालिङ तथा छिमेकी पालिकाका विद्यार्थीलाई लक्षित गरी नगरपालिकाको सहयोगमा कार्यक्रम प्रसारण गर्नेछौँ” नगरप्रमुख खाँणले भन्नुभयो, “नगरपालिकामा रहेका विभिन्न विषयगत सङ्गठनका शिक्षक प्रतिनिधि र दुवै मिडिया सञ्चालकसँग छलफल गरी ‘विशेष कक्षा’ सञ्चालन गर्ने निचोडमा पुगेका हौँ ।”

कोभिड–१९ को महामारीले निराशा मात्रै हुने नभई एकान्तबासको अवधिमा वैकल्पिक उपायको खोजी गर्दै अगाडि बढ्ने क्रममा पहिलो पटक ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको नगरप्रमुख खाँणको भनाइ थियो ।

विशेषगरी अहिले अङ्ग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकले स्टुडियोबाट पढाउने गरी व्यवस्था मिलाइएको पूर्णामृत भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो ।

एकान्तबास अवधिमा बाहिर हिँड्न नपाइने र घरमै बसेर प्रविधिको प्रयोग गरेर शिक्षा आर्जन गर्न पाइने भएकाले पनि ‘विशेष कक्षा’ प्रभावकारी हुने सहायक प्रअ लम्सालले जिकिर गर्नुभयो । आगामी बिहीबारबाट प्रत्येक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म एकघण्टा सामुदायिक रेडियो आँधीखोला र वालिङ टेलिभिजन एचडीबाट ‘विशेष कक्षा’ सञ्चालन थाल्ने वालिङ टेलिभिजनका व्यवस्थापक मणिप्रसाद अर्यालले बताउनुभयो ।

“वालिङ नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको ‘विशेष कक्षा’ को पहिलो चरणमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई स्टुडियोमा आलोपालो गरी ल्याउनेछौँ” व्यवस्थापक अर्यालले भन्नुभयो, “विद्यार्थीको मागका आधारमा दोस्रो चरणमा अन्य विषयलाई पनि क्रमशः जोड्दै जान सकिने छ ।” विद्यार्थीले आफूलाई जिज्ञासा लागेका प्रश्न कक्षा सञ्चालन हुनुपूर्व स्टुडियोमा टिपाउन वा प्रत्यक्षरूपमा शिक्षकलाई टिपाएर समस्याको समाधान पनि गर्न सक्ने व्यवस्थापक अर्यालले बताउनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्