‘चार्टर तथा उद्धार उडान’ पुनः सुचारु, सात दिन होटलमा अनिवार्य बस्नुपर्ने

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने तर हवाइ मार्गबाट स्वदेश आउने यात्रुले मापदण्ड अनुसार बस्नुपर्ने भएको छ ।
हवाई मार्ग भएर आउनेले सात दिनसम्म होटल क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने भएको छ । आउँदाखेरी उनीहरुले आफुले बस्नुपर्ने होटल बुकिङ गरेर आउनु पर्ने भएको छ । सरकारले त्यसका लागि होटलहरुको सूची प्रकाशित गर्ने भएको छ र बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।
विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको एक मन्त्रीले जानकारी दिए ।
यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ । त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको स्रोतले बताएको छ ।