बुधबार संसारकै सबैभन्दा धेरै सम्पत्ती गुमाउनेमा भारतीय उद्योगी मित्तल पनि, एकै दिन घट्यो ४१ करोड डलर « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

बुधबार संसारकै सबैभन्दा धेरै सम्पत्ती गुमाउनेमा भारतीय उद्योगी मित्तल पनि, एकै दिन घट्यो ४१ करोड डलर



काठमाडौं । फोर्ब्सले बुधबार एकै दिन सर्वाधिक सम्पत्ति गुमाउने संसारका अर्बपतिहरुको सूचीमा भारतीय उद्योगपति लक्ष्मी मित्तललाई समावेश गरेको छ। ७२ वर्षीय मित्तल संसारकै सबैभन्दा ठूलो स्टील उत्पादन कम्पनी ‘आर्सेलर मित्तल’का अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन्।

फोर्ब्सले सन् २०२२ को वार्षिक सूचीमा विश्वको ८९ औं धनिको रुपमा रुचिकृत गरेका मित्तल बुधबार १०६ औं स्थानमा पुगेका छन्। विश्वभर आर्थिक मन्दीले स्टीलको खपत घटेसँगै उनको सम्पत्तीमा पनि ह्रास आइरहेको छ। उनले बुधबार एकै दिन ४१ करोड ३० लाख अमेरिकी डलर (करीब साढे ५४ अर्ब रुपैयाँ) सम्पत्ती गुमाए । उनको कम्पनीको वार्षिक कारोबार ७६ अर्ब ६० करोड डलरभन्दा बढी छ।

सन् २०१८ मा मित्तलको सम्पत्ती साढे १८ अर्ब डलर पुगेको थियो । तर कोभीडका कारणले उनलाई ठूलो घाटा लाग्यो । सन् २०२० मा मात्रै ७३ करोड डलरभन्दा धेरै घाटा व्यहोर्नु परेको थियो । तर २०२१ मा स्टीलको मूल्य अचाक्लि बढेपछि उनले एकै वर्षमा १५ अर्ब डलर खुद आम्दानी गरेको फोर्ब्सले लेखेको छ।

हाल लण्डनमा बस्दै आएका मित्तल भारतका १५ औं धनि व्यक्ति हुन् । यससँगै मेक्सिकोको सबैभन्दा ठूलो तामा खानी चलाइरहेको कम्पनी ग्रुपो मेक्सिकोका मालिक जर्मन लारिया माता भेलास्को पनि बढी सम्पत्ति गुमाउने सूचीमा चौंथो नम्बरमा छन् । चीनको औषधि उत्पादक कम्पनि यिलिङ फार्मास्युटिकल्सका अध्यक्ष वु यिलिङ र अमेरिकी सञ्चार संस्था एड्भान्स पब्लिकेशनका मालिक डोनाल्ड न्यूहाउस पनि बढी गुमाउनेकै सूचीमा छन्।

बुधबार सर्वाधिक सम्पत्ति गुमाउनेमा भने चर्चित अर्बपति एलन मस्क रहेका छन् । टेस्ला, स्पेसएक्स र ट्वीटरका मालिक मस्कले एकै दिन २ अर्ब २० करोड डलर सम्पत्ति गुमाएका छन् । यसले उनलाई फेरि संसारक सबैभन्दा धनि व्यक्तिको स्थानबाट दोस्रो धनि बनाइदिएको छ । ट्वीटर किन्ने प्रक्रिया सुरु भएयता मस्कको क्रेज घट्दो छ। यसको असर उनका कम्पनीहरुको सेयर मूल्यमा पनि परिरहेको छ ।

यही कारणले फ्रान्सेली अर्बपति बर्नार्ड आर्नल्ट र उनको परिवारले मस्कलाई पछि पारेको छ । बर्नार्डको सम्पत्ती १९०.८ अर्ब डलर पुगेको, तर मस्कसँग केवल १७४.३ अर्ब डलरमात्रै सम्पत्ती रहेको फोब्र्सले उल्लेख गरेको छ । महिलाहरुको हाते ब्याग र क्रिम लगायत महँगा फेसन उत्पादक बर्नार्ड भने मस्कको दाँजोमा साढे १६ अर्ब डलर बढी सम्पत्ति जोडेर संसारको सबैभन्दा धनि व्यक्ति बनेका छन् ।

बुधबारको स्कोर हेर्ने हो भने अमेरिकी सफ्टवयर कम्पनी ओराकलका अध्यक्ष ल्यारी इलिसन सबैभन्दा धेरै कमाउनेमा पर्छन् । उनको सम्पत्ती एक दिनमै १ अर्ब ५० करोड डलर बढेको छ । संसारभर कपडा बेच्ने ब्यापारी एवम् जारा फेसन चेनका मालिक अमान्सिओ ओटेगा (स्पेनी नागरिक) र फेसबूकका मालिक (उनीसँग अहिले फेसबूकको १३ प्रतिशतमात्रै स्वामित्व छ) मार्क जुकरबर्ग पनि बुधबार सर्वाधिक सम्पत्ती बढाउने अर्बपतिहरुमध्ये पर्छन् । जुकरबर्गको सम्पत्ती बुधबारमात्रै १ अर्ब ३० करोड डलर बढेको छ ।


प्रतिक्रिया दिनुहोस्