सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा लेखन प्रतियोगिताका विजयी पत्रकारहरुलाई पुरस्कार « Arthapath.com
२६ आश्विन २०८०, शुक्रबार

सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा लेखन प्रतियोगिताका विजयी पत्रकारहरुलाई पुरस्कार



काठमाडौँ । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्ष्टिच्यूटले संयुक्तरुपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत गत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजेता पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले स्वागत मन्तव्य राख्दै, विषम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्नका लागि नेपाल सरकारले निजी क्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने बताए । मैत्रीपूर्ण नीति र वातावरणमा सेवा–व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्नेमा उनको विशेष जोड रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा समिटको दौरान भएका विषयगत बहस सत्रका सुझाव तथा निष्कर्ष र समिटमा सहभागी प्रधानमन्त्री, सम्माननीय पूर्वप्रधानमन्त्री, माननीय अर्थमन्त्री, माननीय उद्योगमन्त्री, प्रतिनिधिसभाका माननीय सदस्यहरु, गभर्नर, सचिव, विभिन्न संघ÷संस्थाका नेतृत्वगण, दातृ निकायका प्रतिनिधिलगायतबाट व्यक्त सुझाव, प्रतिबद्धता र ऐक्यवद्धता समेत समेटिएको छ ।

कार्यक्रमको विषयमा नेपाल बिजनेस इन्ष्टिच्युटका अध्यक्ष विशाल गैरेले प्रकाश पारेका थिए । कार्यक्रममा विशेष मन्तव्य राख्दै माननीय उद्योगमन्त्री रमेश रिजालले उक्त प्रतिवेदनले नेपाल सरकार, मातहतका निकाय र सरोकारवालाहरुलाई सहकार्यसहित अगाडि बढ्न मार्गनिर्देश गरेको जनाए । त्यसैगरी उनले आर्थिक जगतका विविध विषयहरुलाई उजागर गर्दै सरोकारवालालाई झकझकाउँदै आएका पत्रकारहरुलाई सम्मान गर्न पाउँदा गर्वित भएको उल्लेख गर्दै सत्यतथ्य र खोजमूलक पत्रकारितामार्फत राष्ट्र निर्माणको अभियानमा पत्रकार जगतले अझ सशक्तरुपमा कलम चलाउँदै सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

समिटको पूर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को प्रायोजन तथा नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्ष्टिच्युटको सहकार्यमा आयोजित ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख लेखन प्रतियोगितामा उत्कृष्ट १५औँ स्थानभित्र पर्न सफल लेखका सर्जकलाई माननीय उद्योगमन्त्रीको हातबाट नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगी पत्रकार गौतम रानाभाट, यम विरही, दुर्गाप्रसाद अर्याल, खेम बोलाखे र नवराज अधिकारीका लेखहरुले क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्त गर्दै क्रमशः नगद एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका हुन् । थप १० उत्कृष्ट लेखका सर्जक तथा पत्रकारहरु कमल बहादुर कठायत, अमृता बजगाई, रुपनारायण ढकाल, ममता थापा, अनिष मिजार, दधिराम खतिवडा, लोकबहादुर चापागाई, एलन अधिकारी, हिक्मत बहादुर नेपाली र वेणु प्रसाद अधिकारीले प्रोत्साहनस्वरुप नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्