वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको अन्तरकालिन आदेश

काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेको भन्दै अदालतमा मुद्दा परेको थियो ।
प्रबद्र्धक चौधरी ग्रुपले आफ्नो उत्पादन वाईवाईजस्तै देखिने र्यापर प्रयोग गरी करेन्टले उपभोक्तालाई भ्रममा पार्ने काम गरेको आरोप लगाएको थियो । उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।
यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरि उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो । चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको सीजी फुड्सको दाबी छ ।
उता यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ ।
अदालतको यस आदेशपछि वाईवाईको नक्कल गरी बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी मुद्दा दर्ता गर्ने सीजी फुड्सले बताएको छ ।