म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई अल्ट्रा लग्जरी होटल सञ्चालनका लागि सम्झौता « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई अल्ट्रा लग्जरी होटल सञ्चालनका लागि सम्झौता



काठमाडौं । म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल – द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं – सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्नेछन् । द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं उच्चस्तरीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष राखिएको छ।

सीजी हस्पिटालिटी ग्लोबल चौधरी ग्रुपको तीव्र गतिमा विस्तार भइरहेको हस्पिटालिटी विंङ् हो । चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो तथा विविध व्यवसायमा संलग्न बहुराष्ट्रिय कम्पनी हो । चौधरी ग्रुपको लगानी हस्पिटालिटी, एफएमसीजी, वित्तीय सेवा, दूरसञ्चार, शिक्षा, पूर्वाधार, सिमेन्ट, विद्युतीय सवारी साधन तथा रियल इस्टेट क्षेत्रमा फैलिएको छ ।

काठमाडौंमा मुख्यालय रहेको चौधरी ग्रुप नेपाललाई विश्वस्तरमा परिचित पर्यटन तथा हस्पिटालिटी गन्तव्यका रूपमा स्थापित गर्दै देशको दीर्घकालीन पर्यटन तथा आर्थिक वृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध कम्पनी हो ।

चौधरी ग्रुप र म्यारियट इन्टरनेशनलबीच दक्षिण एशियाका विभिन्न हस्पिटालिटी परियोजनामार्फत बलियो सहकार्य रहेको छ, जसले विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

यस सम्झौतापश्चात दुई कम्पनीको व्यवसायिक सम्बन्ध अझ विस्तार हुने छ । वेस्टिन काठमाडौं र रिट्ज–कार्लटन काठमाडौं नेपालका अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन्।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनल इन्कका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष डा. बिनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं सञ्चालहरु, म्यारियट इन्टरनेशनल इन्कका एशिया प्रशान्त (चीन बाहेक) अध्यक्ष राजीव मेनन, म्यारियट इन्टरनेशनल इन्क दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट लगायतको उपस्थिति रहेको थियो ।

सम्झौता पश्चात म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त (चीन बाहेक)का अध्यक्ष राजीव मेननले भने, “उच्च सम्भावना भएको नेपाली बजारहरूमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्यलाई अझ सुदृढ बनाउन पाउँदा हामी खुशी छौं । यी ऐतिहासिक परियोजनाहरूले म्यारियट इन्टरनेशनलका लक्जरी तथा प्रिमियम ब्रान्डहरूको उत्कृष्टता र उच्च मापदण्डलाई झल्काउँछन् ।

साथै, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछन् । चौधरी ग्रुपको बलियो बजार अनुभव तथा नेपालको दीर्घकालीन विकासप्रतिको प्रतिबद्धताले यी होटलहरूलाई क्षेत्रकै विशिष्ट हस्पिटालिटी गन्तव्य बनाउनेमा हामी विश्वस्त छौं।”

त्यसैगरी सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक राहुल चौधरीले म्यारियट इन्टरनेशनलसँगको सहकार्य नेपाल एवं दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने चौधरी ग्रुपको यात्राको नयाँ अध्याय भएको बताए । “यी ऐतिहासिक परियोजनामा सहकार्य, विश्वास र साझा दृष्टिकोणका लागि हामी म्यारियट इन्टरनेशनलप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

काठमाडौंमा विकसित हुने यी परियोजनाहरूले म्यारियटका विश्वस्तरीय लक्जरी तथा प्रिमियम ब्रान्डहरूलाई सीजी हस्पिटालिटीको गहिरो बजार अनुभव र दिगो दीर्घकालीन विकासप्रतिको प्रतिबद्धतासँग जोड्नेछन् ।

हामी स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतीकात्मक गन्तव्यहरू निर्माण गर्नेछौं । सीजी हस्पिटालिटी नेपालमै विश्वस्तरीय प्रपटिहरू विकास गर्दै नेपालको पर्यटन उद्योगलाई अर्को स्तरमा पुर्‍याउन प्रतिबद्ध छ।”


प्रतिक्रिया दिनुहोस्