लिवर्टी इनर्जीको साधारण सभा सम्पन्न, के–के एजेण्डा भए पारित ?

काठमाडौँ । लिवर्टी इनर्जी कम्पनीको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गरेको हो ।
कम्पनीको कुल जारी पूँजी मध्ये १ अर्ब १२ करोड ५० लाख बराबरको संस्थापक र बाँकी ३७ करोड ५० लाख बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण शेयर जारी भई हाल सम्पूर्ण शेयरहरु लक–इन खुला भएसगैँ कारोबार भइरहेको छ । कम्पनीको अघिल्लो साधारण सभाबाट हालको चुक्ता पूँजीको५० प्रतिशतका दरले हुन आउने रकम ७५ करोड बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भए बमोजिम उक्त हकप्रद शेयर निष्काशनको अन्तिम स्विकृतीको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिई प्रकृयामा रहेको छ ।
हाल यस कम्पनीसँग ३ वटा जलविद्युत आयोजनाको स्वामित्व रहेकोमा लमजुब जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत २०७९ मंसिर १७ गतेबाट व्यापारिक उत्पादन भइरहेको साथै कम्पनीको स्वामित्वमा रहेका अन्य आयोजनाहरुमा १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता भएको तथा २४.६ मे.वा क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरि विद्युत खरीद बिक्री सम्झौता हुने क्रममा रहेको जानकारी अध्यक्ष डा. आत्माराम घिमिरेले दिएक थिए ।