एनएमबी बैंकबाट गोल्यान बाहिरिएपछि सिविफिनको अध्यक्षमा पौडेल
काठमाडौँ । पवन गोल्यान एनएमबि बैंकको सञ्चालक समिति अध्यक्षबाट बाहिरिएका छन् । २८औं वार्षिक साधारणसभाबाट अध्यक्ष गोल्यान बाहिरिएका हुन् ।
गोल्यान २ दशकभन्दा बढी बैंकको सञ्चालकको भूमिकामा रहेका थिए । उनले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षबाट समेत गोल्यानले राजीनामा दिएका छन् ।
निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि.सं २०७६ सालमा स्थापित सिबिफिनको उनी संस्थापक अध्यक्ष समेत थिए । सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको छ । निवर्तमान अध्यक्ष गोल्यानको फराकिलो र दुरगामी सोच एवं मार्गनिर्देशनमा अगाडि बढेको सिबिफिनले आर्थिक एवं बैंकिङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्री जस्तो राष्ट्रिय पदकबाट समेत विभूषित भइसकेको छ ।
नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आउनुभएका गोल्यानको नेपालको बैंकिङ क्षेत्रको विकास एवं विस्तारमा समेत अतुलनीय योगदान रहेको छ । राष्ट्रिय आवश्यकता र आमजनताको अपेक्षाबमोजिम स्वदेशी उत्पाकत्व अभिवृद्धि, उपयोग एवं निर्यात, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, रोजगारी, नवप्रवर्तनको विकास, घरेलु, साना तथा मझौला उद्यमी तथा व्यवसायको पुनरुत्थानसहित राष्ट्रिय अर्थतन्त्रलाई सवल, सुदृढ र आत्मनिर्भर उन्मुख बनाउन गोल्यानले अहम् भूमिका समेत निर्वाह गर्दै आएका छन् ।
निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५ औ बैंठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
अध्यक्षमा सर्वसम्मत हुनुभएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील थिए । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गर्नुभएका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।















