सन सेक्युरिटिजले दियो काठमाडौं महानगर–१ का स्थानीयहरुलाई सेयर बजार र लगानी सम्वन्धि तालिम
काठमाडौं । सन सेक्युरिटिज प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाडौ महानगरपालिका– १ सँगको सहकार्यमा “सन विथ कम्युनिटि” कार्यक्रमको शुरुवात गरेको छ ।
कम्पनीको कार्यालय नक्सालमा काठमाडौ महानगरपालिका–१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत सेक्युरिटिजले वडाका स्थानीय वासिन्दाहरुलाई सेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरेको छ ।
कार्यक्रममा वडा सचिव सर्वज्ञ राज पौडेलले सम्वोधन गरेका थिए । सेक्युरीटिजले संचालन गरेको कार्यक्रमबाट वडाबासी लाभान्वित हुने बताए । उनले सेयर बजारमा लगानी गरि स्थानीयले अतिरिक्त लाभ लिन समेत आग्रह गरे । यसका साथै उनले बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए ।
सोही अवसरमा कम्पनीका अध्यक्ष कृष्ण गिरीले यस्ता कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए । सन विथ कम्युनिटि कार्यक्रम अन्तरगतको कार्यक्रममा सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।
जसमा सेयर बजारको वर्तमान अवस्था, सेयर बजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा ०१ भित्र वडाभित्र बसोबास गर्नुहुने करिब ६० जना स्थानीयहरुको सहभागिता रहेको थियो ।