आयात प्रतिबन्ध खुकुलो भएसँगै ओलिज स्टोरको व्यापार लयमा, एक वर्षमै गर्‍यो डेढ अर्ब आम्दानी « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

आयात प्रतिबन्ध खुकुलो भएसँगै ओलिज स्टोरको व्यापार लयमा, एक वर्षमै गर्‍यो डेढ अर्ब आम्दानी



काठमाडाैं । विश्व चर्चित अन्तर्राष्ट्रिय ब्रान्डहरू, विशेष गरी एप्पलका फोन, ल्यापटप, क्यामेरा, ड्रोन जस्ता प्राविधिक उपकरण र तिनका एसेसरिजहरूको खरिद-बिक्री गर्दै आएको प्रसिद्ध प्रविधि खुद्रा विक्रेता ओलिज स्टोरको व्यापार एक वर्षमा १३.१९ प्रतिशतले बढेकाे छ।

आर्थिक वर्ष २०२५ मा कम्पनीले १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ रूपैयाँ बराबरका प्राविधिक उपकरण तथा एसेसरिजहरू बेचेकाे छ। अघिल्लाे आर्थिक वर्ष २०२४ कम्पनीले १ अर्ब ३१ करोड ९० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे थियाे ।

यस्तै अघिल्ला वर्षहरूमा भने कम्पनीकाे व्यापारमा निकै उतार चढाव देखिएकाे थियाे । सन् २०२१ मा ८३ करोड १० लाख रुपैयाँकाे मात्र व्यापार गरेकाे कम्पनीले सन् २०२२ मा १ अर्ब ५२ कराेड १० लाख रुपैयाँकाे व्यापार गरेकाे थियाे।

यस्तै नेपाल सरकारले सन् २०२२ को अप्रिलदेखि डिसेम्बरसम्म विदेशी मुद्रा सञ्चिति जोगाउन ६०० डलरभन्दा माथिका मोबाइल फोन र अन्य विलासिताका सामानहरूको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। ओलिज स्टोर मुख्य गरी एप्पल जस्ता महँगा ब्रान्डका फोन तथा ग्याजेटहरूमा निर्भर रहेकाले सामान नै ल्याउन नपाउँदा आर्थिक वर्ष २०२३ मा यसको व्यापार ४४ प्रतिशतले घटेर ८५ करोड ४० लाख रुपैयाँमा सीमित हुन पुग्यो।

सरकारले प्रतिबन्ध हटाएपछि बजारमा प्रिमियम स्मार्टफोन र प्राविधिक उपकरणहरूको माग पुनः तीव्र रूपमा बढ्यो, जसको प्रत्यक्ष फाइदा कम्पनीलाई भयो। कम्पनीले नेपालका प्रमुख सहरहरूमा आफ्ना खुद्रा बिक्री केन्द्रहरू थपेर १५ वटा पुर्‍याउनु र अनलाइन (डिजिटल) माध्यमबाट पनि सशक्त रूपमा सामानहरू बेच्न थालेपछि अहिले कम्पनीकाे व्यापार बढ्दै गएकाे छ। एप्पल जस्ता विश्व चर्चित ब्रान्डका सामानहरू बिक्री गर्ने भएकाले बजारमा यसको बलियो ब्रान्ड रिकल र पहिचान छ।

कम्पनीको कुल व्यापार बढे पनि नाफा मार्जिनमा भने केही गिरावट आएको छ। कम्पनीको मुख्य सञ्चालन नाफा दर आर्थिक वर्ष २०२३ मा ८.२६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२४ मा ७.७६ प्रतिशत र आर्थिक वर्ष २०२५ मा घटेर ६.५० प्रतिशतमा सीमित भएको छ।

त्यस्तै, कम्पनीकाे खुद नाफामा पनि संकुचन आएको छ। आर्थिक वर्ष २०२४ मा खुद नाफा दर ३.२३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२५ मा यो घटेर १.३९ प्रतिशतमा पुगेको छ। व्यापार बढे पनि बैंकको ब्याजदर र अन्य सञ्चालन खर्चहरू बढ्नाले खुद नाफा घटेको देखिन्छ।

कम्पनीको आफ्नो पूँजी (नेटवर्थ) को तुलनामा ऋणको भार आर्थिक वर्ष २०२३ मा १.४३ गुणा रहेकोमा आर्थिक वर्ष २०२५ मा बढेर २.४८ गुणा पुगेको छ। यसैगरी, आफ्नो पूँजीको तुलनामा कुल बाह्य दायित्वको अनुपात पनि आर्थिक वर्ष २०२४ को ३.०० गुणाबाट बढेर आर्थिक वर्ष २०२५ मा ३.५६ गुणा पुगेको देखिन्छ।

कम्पनी ब्याज भुक्तानी क्षमता आर्थिक वर्ष २०२४ मा २.७५ गुणा रहेकोमा आर्थिक वर्ष २०२५ मा घटेर २.१८ गुणा भएको छ। नाफामा आएको केही गिरावट र बैंकको ब्याज खर्च बढेका कारण यो सूचक थोरै कमजोर देखिए पनि कम्पनी अझै ऋणको ब्याज तिर्न सक्ने सुरक्षित अवस्थामै छ।

ओलिज स्टोरको व्यवसायको प्रकृति अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू आयात गरेर बेच्ने खालको भएकाले यसमा ठूलो रकम सामान खरिदमै अड्किने गर्दछ। कम्पनीले ग्राहकहरूबाट रकम त चाँडै उठाउँछ, तर विदेशबाट सामान मगाउनुपर्ने र बजारमा सामानको निरन्तर आपूर्ति सहज राख्नुपर्ने भएकाले लामो समयसम्म सामान गोदाममा राख्नुपर्ने हुन्छ।

आर्थिक वर्ष २०२४ मा सामान गोदाममा थन्किने अवधि १२० दिन रहेकोमा आर्थिक वर्ष २०२५ मा यो बढेर १२९ दिन पुगेको छ। सामान खरिद गरेदेखि बिक्री भएर पैसा उठ्नेसम्मको समग्र ‘सञ्चालन चक्र’ पनि ११६ दिनको रहेको छ, जसले गर्दा कम्पनीलाई व्यवसाय चलाउन सधैँ धेरै नगद वा कार्यपुँजीको आवश्यकता परिरहन्छ।

ओलिज स्टोरले बैंकहरूबाट कुल ७० करोड रुपैयाँ बराबरको वित्तीय कर्जा सुविधा उपयोग गरिरहेको छ। जसलाई इन्फोमेरिक्स क्रेडिट रेटिंग नेपालले कम्पनीको १ करोड ८ लाख ४० हजार रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ‘डबल बी माइनस’ रेटिङ दिएको छ।

यस्तै, छोटो अवधिको कर्जातर्फ ४० करोड रुपैयाँको ट्रष्ट रिसीट कर्जा, १५ करोड रुपैयाँ को प्रतितपत्र सुविधा र थप १३ करोड ९१ लाख ६० हजार रुपैयाँको प्रस्तावित कर्जा गरी कुल ६८ करोड ९१ लाख ६० हजार रुपैयाँको सीमा स्वीकृत गराएको छ, जसलाई ‘ए फोर’ रेटिङ प्रदान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्