सरकारले बजेटमा नीतिगत भ्रष्ट्राचार गर्यो: छड उत्पादक संघ

काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले मंगलबार सार्वजनिक भएको बजेट ‘पोलिसी करप्ट’ भएको बताएका छन् ।
बुधबार विहान नेपाल फलामे छड उत्पादक संघले बजेटको विरोधमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका हुनेवाला अध्यक्षले यस्तो बताएका हुन् ।
‘नीतिगत स्थिरता र राज्यप्रतिको विस्वसनीयतामा हिजोको बजेटले धज्जी उडाएको छ’, उनले भने, ‘नीतिगत भ्रष्टाचार भयो की भएन भन्ने विस्तारै खुल्दै जाला, तर नीतिगत भ्रष्टता (पोलिसी करप्ट) भएको छ ।’
उल्द्योगीहरुले नेपालमा रहेका फलाम खानीहरुको उत्खनन गरेर अवको एक दशकमा फलाममा आत्म निर्भर हुने गरी औद्योगिक वातावरण तयार भइरहेका बेला सरकारले पुनः ‘आयातलाई प्रोत्साहन गर्ने’ नीति अघि सारेको भन्दै विरोध जनाए ।
अहिले सिमेण्ट उद्योगहरु जस्तै भविष्यमा फलाम उद्योग पनि स्वदेशी कच्चापदार्थको उपयोग गर्ने गरी तयार हुने क्रममा रहेका बेला व्यवसायीको घाँटी निमोठ्ने गरी नयाँ बजेट आएको उद्योगीले बताएका छन् ।
कर्पोरेट वार र माओबादी पार्टीभित्र पूर्व अर्थमन्त्री जनार्दन शर्मा एवम् वर्तमान अर्थमन्त्री वर्षमान पुनबीचको द्वन्द्वका कारण सरकारको नीतिगत स्थायित्वमात्रै होइन, बढ्दै गएको औद्योगिक विकास पनि संकटमा पर्न लागेको उद्योगीले बताए ।