पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक हासिल गरेकी पलेशालाई सम्मान गर्दै एनसेल « Arthapath.com
१९ भाद्र २०८१, बुधबार

पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक हासिल गरेकी पलेशालाई सम्मान गर्दै एनसेल



काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई रु १० लाख र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल रु १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो ।

एनसेलले गत वर्ष देखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

पलेशाले आफ्नो उपलब्धीबाट आफैँ हर्षित भएको बताएकी छिन् । तेक्वान्दोको यात्रा शुरु गर्दा उनलाई पारालिम्पिकको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने कल्पना समेत थिएन ।

‘मैले सपना देख्ने हिम्मत गरे, केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ’, उनी भन्छिन्, ‘मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ र त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरेँ ।’ उनले यो पदक आफ्नो नभएर देशको भएको बताइन् । ‘नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु’, उनी भन्छिन् ।

पलेशाले आफ्नो खुसी व्यक्त गर्दै भनिन्, ‘मेरो यस यात्रामा मैले धेरै अविश्वसनीय व्यक्तित्वहरुसँग भेटेँ र सबैले मेरो सफलताको लागि धेरै सहयोग गर्नुभएको छ ।’

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो । यो जीत नेपालको र सम्पुर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो ।’

एनसेलले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने केही खेलाडीकोे तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्