जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ ।
मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका हुन् ।
मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ ।मन्त्रालयले आफ्नै विद्यमान श्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरिरहेको छ ।
हाल कीर्तिपुर अस्पतालबाट उपचार भैरहेकामा गत भाद्रमा वीर अस्पतालमा जलन वार्ड स्थापना गरिसकिएको छ । मन्त्रालयले सातैवटा प्रदेशमा यस्तो उपचार थाल्न लागेको हो ।जसअनुसार कोशी प्रदेशमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा मधेस प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ ।
गण्डकी प्रदेशको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको नेपालगञ्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी तयारी गरिएको छ ।
यसैगरी, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अघि बढाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
‘सबैतिर उपचारको व्यवस्था नहुँदा धेरैले भोग्नुपरेको पीडा कसरी कम गर्न सकिन्छ भनेर मन्त्रको निर्देशनअनुसार मन्त्रालयले तयारी थालेको हो ’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले , ‘मन्त्रालयको आफ्नै श्रोतबाटै सातै प्रदेशमा निःशुल्क उपचार सुविधा दिने गरी तयारी अघि बढिरहेको बताए ।’