सीमापार डिजिटल भुक्तानीलाई तीव्रता दिँदै एनसीएचएल, नेपाल आउन विदेशी नागरिकले डलर बोक्नै नपर्ने

काठमाडौँ । अब विभिन्न मुलुकका पर्यटकले नेपालमा क्युआर अर्थात् ‘क्विक रेस्पोन्स कोड’बाट भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सीमापार डिजिटल कारोबारलाई कार्यान्वयनमा ल्याएसँगै यस्तो सुविधा पाइने भएको हो ।
नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरे बजोजिम एनसीएचएलले विभिन्न अन्तर्राष्ट्रिय मर्चेन्टसँग सम्झौता अघि बढाएको छ । जस अनुसार १० देशका नागरिकले अब सीधै अनलाइनको माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
यसअघि स्वीफ्ट र एटिएम कार्डमार्फत मात्रै अन्तर्राष्ट्रिय कारोबार तथा भुक्तानी भइरहेको थियो । अन्तर्राष्ट्रिय कारोबारलाई ग्राहक स्वयंले लेनदेन गर्न मिल्ने गरी ‘पिपुल टु मर्चेन्ट (पिटुएम)’ मोडलमा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी गर्न सकिने व्यवस्था ल्याइएको हो । यसले विदेशी पर्यटकले गर्ने हरेक कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउन मद्दत पुर्याउँछ ।
यो व्यवस्थाले विश्वका जुनसुकै देशका नागरिक (विशेष गरी पर्यटक)ले नेपालमा वस्तु तथा सेवा खरिद गर्दा क्युआर मार्फत भुक्तानी गर्न सक्नेछन् । हाललाई १४ वटा ई–वालेट र मोबाइल बैंकिङ एपका अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूले अब ‘नेपाल पे’ क्यूआरमा भुक्तानी गर्न सक्छन् ।
उनीहरुले नेपाल भ्रमण गर्दा नगद बोक्नुपर्ने बाध्यता घटाइएको एनसीएचएलले जनाएको छ । व्यापारीहरूले अब चीन, दक्षिण पूर्वी एसिया र अफ्रिकाका १० देशका पर्यटकहरूबाट सिधै नेपाल पे क्यूआरमा भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । विस्तारै संसारका अन्य देशका नागरिकलाई पनि यस्तो सुविधा उपलब्ध गराउँदै जाने प्रयत्नमा आफूहरु रहेको एनसीएचएलको भनाइ छ ।
हाल चीनको अलिपे, अलिपे हङकङ, मकाओको एमपे र इटालीको टिनाबा बैंकको वालेटबाट नेपालमा सीधै क्युआर भुक्तानी हुने भएको छ । मलेसियाका दुई वालेटहरु ‘टच एन गो इ–वालेट’ तथा पब्लिक बैंक बर्हाडले प्रबद्र्धन गरेको ‘माइ–पीबी’ वालेटबाट पनि नेपालमा भुक्तानी गर्न पाइने भएको छ ।
फिलिपिन्सको जी–क्यास, मंगोलियाको हाइ–पे र सिंगापुरका दुई वालेटहरु ‘चाङ यी पे’ र ‘ओसिबिसी डिजिटल’मार्फत पनि सिधै क्यूआर स्कान गरेर नेपालमा भुक्तानी गर्न मिल्ने भएको छ ।
त्यसैगरी दक्षिण कोरियाको कोकोआ पे, नेइबर पे र टोस पेबाट पनि नेपालमा सीधा भुक्तानी गर्न पाइने अवस्था बनेको छ । थाइल्याण्डको ट्रु–मनिमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिन्छ ।
यस्तो सुविधाबाट पर्यटकमात्र नभई व्यापारीहरू पनि लाभान्वित हुनेछन् । व्यापारीहरूले विदेशी नागरिकहरूबाट पनि सजिलै भुक्तानी प्राप्त गर्नेछन् । बिना झन्झट सजिलै भुक्तानी गर्न सकिने हुँदा विदेशीले आफूले चाहेको कुरा जुनसुकै बेला खरिद गर्न सक्छन् । जसले बिक्री बढाउन समेत सहयोग पुर्याउने आशा गरिएको छ ।
अर्कोतिर विदेशी पर्यटकलाई भारी मात्रामा विदेशी मुद्रा बोक्न वा साट्न आवश्यक पर्दैन । जसले मुद्रा विनिमयलाई सरलीकृत बनाउँछ । उनीहरूको आफ्नै देशको ई–वालेट वा मोबाइल बैंकिङ एप प्रयोग गरेर नेपालमा भुक्तानी गर्न सक्नेछन् ।
यसले वित्तीय अन्तरघुलनलाई सुव्यवस्थित गर्न सघाउने अपेक्षा नेपालको सरकार र केन्द्रिय बैंकले पनि लिएका छन् । जसले पर्यटक र नेपाली अर्थतन्त्र दुवैलाई फाइदा पु¥याउनेछ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि भुक्तानी प्रणाली सहज बनाउँदा पर्यटकले गर्ने खर्च सिधै बैंकिङ प्रणालीमा जाने र अर्थतन्त्रलाई फाइदा पुर्याउने बताए । ‘अहिले पर्यटकले गर्ने सबै खर्च प्रणालीमा समेटिएको छैन । पर्यटकले नगदमा गरेका खर्चहरू गणना नहुँदा वास्तविक खर्च समेत नआइरहेको बेला यसले स्पष्ट देखाउँछ’, उनले भने । अनलाइन भुक्तानी सहज हुँदा पर्यटकले गर्ने खर्च समेत वृद्धि हुने उनले बताए ।
पछिल्लो समय नेपाल पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गइरहेको छ । उच्च हिमशृंखला आरोहण, पदयात्रासँगै साहसिक तथा प्रकृतिप्रेमी पर्यटनको गन्तव्यका रूपमा परिचित छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, वसन्तपुर दरबार क्षेत्र, बौद्ध स्तूपलगायत ऐतिहासिक अनुपम कला, सम्पदा र संस्कृति हेर्नका लागि पनि वर्षेनी लाखौं विदेशी पर्यटक नेपाल आउने गरेका छन् ।
पर्यटन व्यवसायले मुलुकको अर्थतन्त्रको पुनरुत्थानमा महत्वपूर्ण भूमिका समेत खेल्दै आइरहेको छ । सन् २०२४ मा मात्रै साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १५ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपाल भ्रमणमा आउने देशहरू मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट आउने गरेको पर्यटन बोर्डले जनाएको छ ।
सन् २०२४ मा भारतबाट मात्रै ३ लाख १८ हजार पर्यटक नेपाल आएका थिए । दोस्रो स्रोत राष्ट्र अमेरिकाबाट १ लाख ११ हजार, चीनबाट १ लाख १ हजार, युकेबाट ५७ हजार, बाङ्लादेशबाट ४८ हजार, अस्ट्रेलियामा ४३ हजार, थाइल्याण्डबाट ३० हजार, श्रीलंकाबाट ३० हजार, जर्मनीबाट २९ हजार र दक्षिण कोरियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।
नेपालमा २२० भन्दा बढी मुलुकबाट पर्यटक आउने गरेका छन् । त्यसैले यस प्रकारको भुक्तानी सरलिकरण सुविधा अहिलेको अवस्थाबाट अन्यत्र पनि विस्तार गर्दै लाने योजनामा एनसीएचएलले तीव्रतासाथ काम गरिरहेको छ ।
यो सहकार्यले विश्वव्यापी डिजिटल प्रबृत्तिलाई रूपान्तरण र दिगोपन ल्याउनमात्र नभई नेपालमा नगदरहित अर्थतन्त्रको विकासलाई बढावा दिन पनि ठूलो मद्दत गर्ने छ । हरेक देशबाट आउने विदेशी नागरिकलाई भुक्तानीमा सहजीकरण गर्न सक्ने हो भने यसले अर्थतन्त्रमा पुर्याउने योगदान थपिँदै जाने बोर्डले जनाएको छ ।