आम्दानी, खर्च र ऋण व्यवस्थापनमा अब्बल पूर्वाञ्चल ल्युब: ९ महिनामा साढे ६७ करोडको व्यापार
काठमाडाैं । स्वदेशी तथा विदेशी ब्रान्डहरूको तीव्र प्रतिस्पर्धा र बजारको उतारचढावबीच नेपालको स्थापित लुब्रिकेन्ट उत्पादक कम्पनी पूर्वाञ्चल ल्युब आयल लिमिटेडले पछिल्ला वर्षहरूमा व्यापार बढाउँदै लगेकाे छ।
आइपीओ निष्काशन गर्ने तयारीमा रहेकाे कम्पनीले चालू आर्थिक वर्ष २०२६ को पहिलो ९ महिनामा मात्र ६७ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।
गत आर्थिक वर्ष २०२५ मा कम्पनीको व्यापार ११.५६ प्रतिशतले बढेर ८९ करोड ८० लाख रुपैयाँ पुगेको थियो, जुन त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०२४ मा ७८ करोड ७० लाख रुपैयाँ मात्र सीमित थियो। त्यस्तै, आर्थिक वर्ष २०२३ मा कम्पनीको कुल व्यापार ७७ करोड ४० लाख रुपैयाँ रहेको थियो।
व्यापारसँगै कम्पनीको पूँजीगत संरचना चालू आर्थिक वर्षमा अझ मजबुत बनेको छ। मौजुदा सेयरधनीहरूबाट २० करोड रुपैयाँ बराबरको हकप्रद सेयरमार्फत पूँजी थप गरिएपछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुगेको छ।
पूँजी बढेसँगै कम्पनीको ऋण र पूँजीको अनुपात (गियरिङ प्रोफाइल) मा उल्लेख्य सुधार आएको छ। आर्थिक वर्ष २०२३ मा १.९३ गुणा र आर्थिक वर्ष २०२४ मा ०.८६ गुणा रहेको यस्तो अनुपात गत आर्थिक वर्ष २०२५ मा घटेर ०.८० गुणामा झरेको थियो। चालू आर्थिक वर्ष २०२६ को पहिलो ९ महिनाको अवधिमा यो सूचक अझ सुध्रिएर ०.६१ गुणा कायम भएको छ, जसले कम्पनीमा ऋणको भार कम हुँदै गएको देखाउँछ।
आर्थिक वर्ष २०२४ मा १७.७५ प्रतिशत रहेको कम्पनीको नाफा दर कच्चा पदार्थको मूल्य वृद्धिका कारण आर्थिक वर्ष २०२५ मा सामान्य घटेर १५.८८ प्रतिशतमा सीमित भएको थियो। तर, चालू आर्थिक वर्ष २०२६ को ९ महिनामा यो दर पुनः सुध्रिएर १७.०७ प्रतिशत पुगेको छ।
अर्कोतर्फ, कम्पनीको तत्काल दायित्व भुक्तान गर्न सक्ने क्षमता अर्थात् चालु अनुपात (करन्ट रेसियो) आर्थिक वर्ष २०२४ मा ३.२८ गुणा र आर्थिक वर्ष २०२५ मा २.२१ गुणा रहेकोमा चालू आर्थिक वर्षको ९ महिनामा २.५३ गुणा कायम भएको छ, जुन सन्तोषजनक मानिन्छ।
कम्पनीले कमाएको नाफाबाट बैंकको ब्याज तिर्न सक्ने क्षमता (इन्ट्रेस्ट कभरेज रेसियो) मा पनि निरन्तर उत्साहजनक सुधार आएको छ। आर्थिक वर्ष २०२४ मा यो सूचक २.३१ गुणा रहेकोमा गत आर्थिक वर्ष २०२५ मा बढेर ३.२१ गुणा पुगेको थियो। चालू आर्थिक वर्ष २०२६ को पहिलो ९ महिनामा त यो क्षमता अझै बढेर ४.८० गुणा पुगेको छ। ब्याजदरमा आएको गिरावट र कम्पनीको नाफा आर्जन गर्ने क्षमतामा भएको वृद्धिका कारण ब्याज भुक्तानी गर्ने वित्तीय आधार बलियो बनेको हो।
वित्तीय सूचकहरू सकारात्मक रहे पनि कम्पनीको कार्य सञ्चालन चक्र (अपेरेटिङ साइकल) भने अझै पनि केही भ्रामक र लामो देखिन्छ, जुन कम्पनीका लागि केही चुनौतीपूर्ण छ।
कच्चा पदार्थ आयातका लागि लाग्ने लामो समय र बजारको तीव्र प्रतिस्पर्धाका कारण कम्पनीले धेरै दिनसम्म कच्चा पदार्थ र तयारी सामान भण्डारण गरेर राख्नुपर्ने बाध्यता छ।
आर्थिक वर्ष २०२४ मा ४५७ दिन रहेको कार्य सञ्चालन चक्र आर्थिक वर्ष २०२५ मा केही सुध्रिएर ३८९ दिनमा झरेको भए पनि यसले गर्दा दैनिक कार्यशील पूँजी व्यवस्थापनका लागि कम्पनी अझै पनि बैंक कर्जामा निर्भर रहनुपरेको देखिन्छ।
कम्पनीले व्यवसाय सञ्चालनका लागि बैंकहरूबाट कुल ७४ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको कर्जा सीमा स्वीकृत गराएको छ। जसमध्ये, ‘केयर-एनपी ट्रिपल बी माइनस’ रेटिङ पाएको दीर्घकालीन कर्जातर्फ २२ करोड ७३ लाख ७० हजार रुपैयाँ वित्तीय सुविधा छ। यस अन्तर्गत ४ करोड ६१ लाख २० हजार रुपैयाँ आवधिक कर्जा (टर्म लोन) र १८ करोड १२ लाख ५० हजार रुपैयाँ स्थायी कार्यशील पूँजी कर्जा रहेको छ।
त्यस्तै, ‘केयर-एनपी ए थ्री’ रेटिङ पाएको अल्पकालीन कर्जातर्फ कुल ५१ करोड ५० लाख रुपैयाँको सीमा छ। यस अन्तर्गत कम्पनीले कोषमा आधारित कर्जातर्फ ३० करोड रुपैयाँ र गैर-कोषमा आधारिततर्फ २१ करोड ५० लाख रुपैयाँ सीमा उपभोग गरिरहेको छ।
कम्पनीले बजारमा पीएलओ, स्टार, मेगा, र सुरक्षा जस्ता उपभोक्तामाझ लोकप्रिय र स्थापित ब्रान्डहरू अन्तर्गत लुब्रिकेन्ट र ग्रिजहरू बिक्री गरिरहेको छ। कम्पनीले नेपालभर ४८ वटा थोक विक्रेताको बलियो नेटवर्क तयार पारेको छ।
कम्पनीसँग यस क्षेत्रमा २५ वर्ष लामो कार्यअनुभव छ। तीन दशकभन्दा बढी समय अटोमोबाइल र व्यापारिक क्षेत्रमा बिताएका अध्यक्ष कृष्णप्रसाद दुलाल र प्रबन्ध निर्देशक भोलेश्वर दुलालसहितको टिमको कुशल व्यवस्थापन र बजार रणनीतिकै कारण कम्पनीले यो व्यापारिक फड्को मार्न सकेको हो।














