वैदेशिक रोजगारीः पुराना जति खाडीमा, नयाँको रोजाइ मलेसिया « Arthapath.com
५ चैत्र २०७९, आईतवार

वैदेशिक रोजगारीः पुराना जति खाडीमा, नयाँको रोजाइ मलेसिया



काठमाडौं । यो वर्षको साउनदेखि माघसम्म ४ लाख ८२ हजार ४ सय ७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये ३ लाख १४ हजार ७ सय ६७ जना नयाँ हुन् भने १ लाख ६७ हजार ७ सय ८ जना पुराना श्रमिक हुन् । वैदेशिक रोजगारीमा गएर घर फर्केकाहरु पुनः जानुपर्दा नियमानुसार पुनः श्रम स्वीकृति लिनुपर्ने हुन्छ ।

तर यो वर्ष नेपाली श्रमिकमाझ मसेलियाको आकर्षण अभूतपूर्व देखिएको छ । हरेक दिन करीब २३ सय जनाले श्रम स्वीकृति लिइरहेकोमा करीब १५ सय नयाँ श्रम स्वीकृति लिनेहरु छन् । यसमध्ये आधाभन्दा बढी मलेसिया गएका छन् । यो सात महिनामा मात्रै १ लाख ६० हजार जनाले मलेसिया जानका लागि नयाँ श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिएर मलेसिया जान चाहनेको संख्या भने २३ हजार ७६२ छ ।

गत साल नेपाली श्रमिकको सर्वाधिक रोजाइमा परेको साउदी अरब यो वर्ष तेस्रो रोजाइमा परेको छ । दुबई र अबुधावीजस्ता शहरको देश युएईका लागि यो सालको ७ महिनामा २९ हजारभन्दा बढी नयाँ र ३५ हजार ७ सय जनाले पुनः श्रम स्वीकृति लिएका छन् । साउदी अरब जानका लागि २८ हजार ७१५ जना नयाँ र ३६ हजार १३४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

पछिल्ला तीन आर्थिक वर्षको प्रथम सात महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या ।

पुनः श्रम स्वीकृति लिएर विदेशिनेहरुको मुख्य रोजाइ चाहीँ कतार देखिएको छ, जहाँ यो सात महिनामा मात्रै ५२ हजारभन्दा धेरै नेपाली गएका छन् । यसरी पुनः श्रम स्वीकृति लिएर विदेसिनेमध्ये ७४ प्रतिशतभन्दा बढी खाडीका तनि देश कतार, साउदी अबर र यूएईमा गएका छन् । नयाँ श्रम स्वीकृति लिनेमध्ये ५०.५ प्रतिशतले मलेसिया जाने भएका छन् ।

यस्तो तथ्यांकमा पहिले साउदी अरब गएर फर्किएर मलेसिया जान लागेको छ भने त्यो पनि नयाँमै गणना हुन्छ । कोभीड महामारी सुरुभए यता गत सालको वसन्त ऋतुबाटमात्रै मेलेसिया जाने नेपालीको संख्या बढ्न थालेको हो । पछिल्ला दुई वर्षमा मलेसियामा नेपाली श्रमिकको तलव बढ्नेदेखि सामाजिक सुरक्षामा सहभागि हुन पाउने जस्ता सुविधा थपिएका छन् । सुरक्षा गार्डहरुले न्यूनतमभन्दा निकै राम्रो तलव सुविधा पाउँछन् ।

खाडी क्षेत्रमा जस्तो कानूनी रुपमा कयौं प्रतिबन्धात्मक व्यवस्था नभएकाले तुलनात्मक रुपमा मलेसियामा जीवनयापन सहज छ । खाडीमा अचाक्लि गर्मी हुने भए पनि मलेसियाको वातावरण पोखरासँग मिल्दोजुल्दो छ । सन् २०२० मा मलेसियामा स्वदेशी तथा विदेशी श्रमजिवीको न्यूनतम तलव ११ सय रिंगेट थियो । २०२२ मा त्यहाँको मानव संशाधन मन्त्रालयले १२ सय रिंगेट पुर्यो । अहिले त्यसमा पनि बढाएर १५ सय रिंगेट पुर्याइएको छ ।

पछिल्लो समय रिंगेटको भाउ पनि बढ्दै गएको छ । यसले खाडीका मुद्राहरुको अवमूल्यनले पाउने लाभ पनि मलेसिया जाँदा उसैगरी पुर्ति हुने भएपछि धेरैको रोजाइमा मलेसिया देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्