मन्दीले खलबलिएको निर्माण क्षेत्रको चक्र: सडक विकास नमज्जाले प्रभावित, नयाँ थपिने सम्भावना कति ? « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

मन्दीले खलबलिएको निर्माण क्षेत्रको चक्र: सडक विकास नमज्जाले प्रभावित, नयाँ थपिने सम्भावना कति ?



काठमाडौं । पछिल्लो अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पुग्दा निर्माण क्षेत्रको चक्र नै खलबलिएको छ । जसले सडक विस्तार पनि घटेको छ ।

निर्माण क्षेत्र मन्दीमा जाँदा नयाँ सडक थप, सडक कालोपत्रे तथा पुल निर्माण गर्ने कार्यपनि नमज्जाले प्रभावित भएको छ । सरकारले हालसालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले देखाएको हो ।

आर्थिक सर्वेक्षणअनुसार चालु आवको ८ महिनामा १०४ किलोमिटर मात्रै राष्ट्रिय स्तरको सडक थपिएको छ । गत आव २०७८/७९ मा २८० किमी बराबरको सडक नयाँ सडक निर्माण भएको थियो । तर, चालु आवको ८ महिनामा १०४ किमी मात्रै सडक थपिएको छ । साथै, चालु आवको असारमसान्तसम्म पनि गत आव बराबरको सडक थपिने सम्भावना न्यून रहेको सडक विभागका अधिकारीहरु बताउछन् ।

आर्थिक सर्वेक्षणअनुसार अहिले देशभर राष्ट्रिय सञ्जालको कुल लम्बाई ३४ हजार १०० किमी पुगेको छ । यस्तै, यो बर्ष कालोपत्रे हुने सडक सञ्जाल पनि घटेको छ । आर्थिक सर्वेक्षणअनुसार चालु आवमा २४८ किमी सडक मात्रै कालोपत्रे भएको छ, यो पनि गत आवको भन्दा पनि कम हो । गत आवमा देशभर थप ६१८ किमी सडक कालोपत्रे भएको थियो ।

अहिले देशभर कालोपत्रे हुने सडकको लम्बाई १७ हजार ४८० किमी रहेको छ । यसैगरि ग्राभेल सडको लम्बाई ७ हजार ९५३ र कच्ची सडकको लम्बई ८ हजार ६६४ किमी रहेको छ । तर, यो बर्ष २४८ किमी मात्रै सडक कालोपत्रे भएको छ । ग्राभेल सडक निर्माणमा पनि खासै प्रगति नभएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आवको फागुनसम्म ३१६ किमी सडक ग्राभेल भएको छ, गत आवमा भने ३३५ किमी सडक गाभ्रेल भएको थियो । यो बर्षदेशभर ७५ वटा मात्रै पुल निर्माण भएको छ । गत आवमा २८२ वटा मोटररेवल पुल निर्माण भएको थियो, यो बर्ष त्यो ७५ वटामा झरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सरकारको भुक्तानी, निर्माण सामग्रीको मूल्य र उपलब्धता, बैंकबाट पाउने ऋण लगायतका विषय निर्माणसँग प्रत्यक्ष सम्बन्ध राख्छन । स्रोत अभावका कारण काम सम्पन्न गरेका निर्माण कम्पनीलाई सरकारले भुक्तानी दिन सकेको छैन । साथै, बजेट कटौतीको नीतिअनुसार सरकारले नयाँ ठेक्का सम्झौता पनि गरेको छैन ।

पछिल्लो समय उल्टै निर्माण सामग्रीको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सरकारले भुक्तानी नदिने र उल्टै महँगी बढ्दा निर्माण कम्पनीहरूको काम गर्ने क्षमता घटेको छ । ठेक्कामा सम्झौता गर्दा पाइने पेस्की रकम पनि २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा सीमित गरिएको छ । यसले निर्माण कम्पनीहरुमा नगद प्रवाह घटेको छ । त्यसले निर्माणका काम हुन सकेको छैन । अहिले निर्माण क्षेत्र २० देखि ३० प्रतिशतको क्षमतामा सञ्चालन भएको छ । त्योअनुसार सडक निर्माणमा तत्काल उत्साहन नआउने जानकारवालाहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्