महाकालीको पानी राजस्थानहुँदै गुजरात पुर्याउने भारतीय स्वार्थमा अघि बढ्दै ‘पञ्चेश्वर’ « Arthapath.com
२७ पुष २०८०, शुक्रबार

महाकालीको पानी राजस्थानहुँदै गुजरात पुर्याउने भारतीय स्वार्थमा अघि बढ्दै ‘पञ्चेश्वर’



काठमाडौं । आजभन्दा ६८ वर्षअघि पहिचान गरेर पनि बन्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब भने मूर्त रुप लिने बाटोमा अघि बढेको दाबी परराष्ट्र मन्त्री एनपी साउदले गरेका छन् । डडेलधूरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री साउदले उक्त परियोजना ‘ब्रेक थ्रु हुने विन्दुमा पुगेको’ जिकिर गरे ।

उक्त परियोजनाको पछिल्लो डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) अन्तिम चरणमा पुगेको र केही दिनभित्र ‘ब्रेक थ्रु’ हुने उनले बताए । उक्त परियोजनाले सुदुरपश्चिमका साथसाथै सिंगो देशकै मुहार फेर्ने भनेर उनले नागरिकमा आशा जगाएका छन् ।

उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र माथिल्लो कर्णाली विद्युत परियोजनाहरु एकसाथ अघि बढाउन सके रोजगारीको खोजिमा विदेश जानुपर्ने अहिलेको बाध्यता हट्ने र विदेशिने नेपालीको संख्या समेत घट्ने बताए ।

फाइल तस्वीरः परराष्ट्रमन्त्री एनपी साउद र पञ्चेश्वर आयोजनास्थल ।

पछिल्लो समय पश्चेश्वरलाई लिएर भारत निकै अग्रसर देखिएको छ । विगतमा भाषणमा मात्रै यस आयोजनाको चर्चा हुने गरेको भए पनि अहिले भारतले यो परियोजना साँच्चै अघि बढाउन चाहेको छ, तर उसको स्वार्थमा । उक्त बहुउद्देश्यीय परियोजनाको लाभको बाँडफाँट कसरी गर्ने भनेर २८ वर्षअघि भएको महाकाली सन्धी र त्यसपछिका कयौं वार्ताका निचोडहरुलाई लत्याउने कोसिस गरिँदै छ ।

भारतले सकभर ‘गुपचुप’ यो आयोजनालाई अघि बढाउने कोसिस गरिरहेको छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका दौरान पञ्चेश्वरलाई ‘बिल्कुलै नयाँ ढंगले’ अघि बढाउने समझदारी भएको स्वम् प्रधानमन्त्रीले नै उल्लेख गरेका थिए ।

अहिले भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने सम्झौता गरेको छ । भर्खरैमात्र भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल आएर उक्त सम्झौतामा हस्ताक्षर गराएका छन् । यस घटनाले भारतप्रति नेपालमा सद्भावपूर्ण परिस्थिति सिर्जना भएको छ ।

यही मौकामा धेरै हल्लिखल्लि नगरिकनै महाकालीको पानीलाई आफ्नो नियन्त्रणमा ल्याउने गरी भारतले पञ्चेश्वर अघि बढाउन चाहेको जानकार बताउँछन् । यस परियोजनाबाट भारतले विजुली त पाउँछ नै, ठूलो मात्रामा जलस्रोत पनि हात पार्ने योजना बनाएको छ ।

महाकालीको पानीलाई थार मरुभूमिहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातसम्म पुर्याएर सिंचाइ गर्ने योजना भारत सरकारले पहिले नै अघि सारिसकेको थियो ।

‘शारदा सावरमती लिंक परियोजना’ भनिएको यस महत्वाकांक्षी योजना अन्तरगत महाकाली नदीको पानी १८३५ किलोमिटर लामो नहर बनाएर गुजरातसम्म पुर्याइने छ । पञ्चेश्वरमा बाँध बाँधेर त्यहाँको पानी पश्चिम फर्काउँदै यमुनाको पानी समेत मिसाउने योजना बनाइएको छ ।

यसले भारतका उत्तराखण्ड, राजस्थान, हरियाणा र गुजरातमा सिंचाइ गर्ने महान् अभिलाषा भारत सरकारले अघि सारेको छ । यस परियोजनाका लागि ८ वर्षअघि नै १० खर्ब भारु लागत अनुमान गरिरएको थियो । एक दशकअघि नरेन्द्र मोदी सत्तामा आएसँगै यस बृहत्तर परियोजनाको बारेमा अध्ययन शुरु भएको थियो ।

१५ देखि २० वर्षभित्र निर्माण सक्ने भन्दै अघि सारिएको यो परियोजना सिंगो भारतको ‘रिभर लिंक’ (नदी जोड्ने) परियोजनामध्ये सबैभन्दा ठूलो र लामो योजना हो । चार चरणमा निर्माण गर्ने प्रस्ताव गरिएको यो परियोजनाको पहिलो चरणमा महाकाली नदीलाई थुनेर नेपालमा पाँचओटा विशाल जलाशय निर्माण गर्ने भनिएको छ । पञ्चेश्वरको शुरुआति प्रस्तावमा यसरी पाँच वटा जलाशय बनाएर नदी थुन्ने भनिएको थिएन ।

पञ्चेश्वरको पुरानो योजना यस्तो थियो ।

यसरी धेरै वटा ठूला जलाशय बनाएर वर्षातको बाढीलाई अधिकतर रोक्ने र त्यसले विस्तारै हिउँदभरी पानीको अधिक प्रवाह सुनिश्चित गर्ने योजना भारतको छ । यो प्रस्तार सन् २०१५ को अन्त्यतिर तयार पारिएको थियो । त्यसपछि भारतले यस विषयमा थुप्रै तरिकाले छलफल चलायो । नेपालसँग सहमती हुन नसकेपछि यो योजना थाति रहँदै आएको थियो । तर अहिले प्रचण्ड प्रधानमन्त्री रहेकै बेला विद्युत् खरीद सम्झौताको ‘आडमा’ यस परियोजना अघि बढाउने कोसिस भइरहेको जानकार बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्