चारैवटा ठूला विमानस्थलको निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई सुम्पिन सरकार तत्पर, अध्ययन गर्न बनायो समिति « Arthapath.com
१८ माघ २०८०, बिहीबार

चारैवटा ठूला विमानस्थलको निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई सुम्पिन सरकार तत्पर, अध्ययन गर्न बनायो समिति



काठमाडौं । सरकारले देशका चार वटै अन्तरराष्ट्रिय विमानस्थलहरुको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा एउटै कम्पनीलाई दिने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्‌को बिहिबार बसेको बैठकले पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो ।

पाँच सदस्यीय उक्त समितिमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी विज्ञ घनश्याम ओझा, लगानी बोर्डका सहसचिव र क्यानका उपनिर्देशक दीपेन्द्र श्रेष्ठलाई सदस्य बनाइएको छ । उक्त समितिले चारै वटा विमानस्थलको निर्माण तथा सञ्चालनको जिम्मा कुनै एक कम्पनीलाई ‘प्याकेज’मा उपलब्ध गराउने बारे अध्ययन गर्ने छ ।

यो प्रस्ताव करिब एक महिनाअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अघि बढाएको थियो । क्यान सञ्चालक समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समेत एउटै कम्पनीले गर्ने गरी ‘प्याकेज’मा सञ्चालनको दायित्व हस्तान्तरण गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । यस योजना अनुसार काठमाडौंको त्रिभुवन विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सञ्चालनको जिम्मा निजी कम्पनीलाई दिइने छ ।

यससम्बन्धि कार्ययोजना स्वीकृत गरेर क्यानले यसअघि नै मन्त्रालयमा पेस गरिसकेको छ । क्यानको योजना अनुसार नै पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेका थिए। अब अधिकारी संयोजक रहेको समितिले यस विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिनेछ।

विद्ययमान कानुन अनुसार सबै विमानस्थलहरुको निर्माण, संचालन र व्यवस्थापनको जिम्मा क्यानको क्षेत्राधिकारभित्र पर्छ। तर अब स्वदेशी वा विदेशी कम्पनीलाई यस प्रकारको जिम्मेवारी दिन कुन कुन कानूनमा के कस्तो सुधार आवश्यक छ भनेर सुझाव दिने कार्यादेश अधिकारी नेतृत्वको समितिले पाएको छ ।

आफ्नो सञ्चालक समितिबाट मोडालिटी पारित गर्नुअघि क्यानका महानिर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्रीलाई भेटेर प्रस्तावबारे ब्रिफिङ गरेको बीजमान्डुले लेखेको छ । क्यानको प्रस्ताव बाहिरिएपछि भारतीय अर्बपति व्यापारी गौतम अडानीको स्वामित्वमा रहेको अडानी समूहले निजगढ विमानस्थल निर्माणमा चासो देखाएको थियो।

अडानी समूहका प्रतिनिधि अनिल पटानीले पुस अन्तिम साता काठमाडौं आएर क्यानका महानिर्देशक अधिकारीलाई भेटेका थिए । उनले निजगढ विमानस्थल निर्माणबारे क्यानको योजना सम्बन्धमा सोधपुच गरेका थिए । त्यसपछि पुस अन्तिम साता भारतको गुजरात पुगेका अर्थमन्त्री डा. प्रकाशशरण महतसँग गौतम अडानी स्वयंले पनि यस सम्बन्धमा चासो राखेका थिए। उनले आगामी वैशाखमा आयोृजना हुने लगानी सम्मेलनमा अडानी सहभागि हुने बताएका छन् । यदी अडानी नेपाल आए भने हालसम्मका नेपालको लगानी सम्मेलनमा वैश्वीक भाग लिने संसारका सबैधन्दा धनि व्यक्ति सायद उनी नै हुने छन् ।

सरकारले गएको २३ कात्तिकमा पुनः एक पटक ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने’ निर्णय गरेको थियो । यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो। त्यसको एक महिनापछि मन्त्रालयले क्यानलाई निर्माणको खाका तयार पार्न भनेको थियो।

क्यानले तयार पारेको मोडालिटीमा ३ हजार ८४५ हेक्टरमा विमानस्थल बनाउने प्रस्ताव गरिएको छ। मोडालिटी अनुसार पहिलो चरणमा १ हजार ९३३ हेक्टरमा मात्र विमानस्थल बनाइनेछ। यसका लागि सवा १ खर्ब रुपैयाँ लाग्ने अनुमान छ। यो विमानस्थललाई काठमाडौंसँग जोड्न भनेर निर्माणाधिन काठमाडौं तराई द्रुतमार्गको एलाइनमेन्ट परिमार्जन गर्न नेपाली सेनालाई पनि पटक पटक आग्रह गर्दै आएको छ ।

अहिले निर्माण सकिएका दुई विमानस्थलहरु चलाउन नसकेको सरकारले अर्को र सबैभन्दा ठूलो विमानस्थल निर्माणमा देखाएको हतारोलाई लिएर कतिपयले आलोचना पनि गरिरहेको छन् । यद्यपि, सरकार कुनै पनि हालतमा निगजढ विमानस्थल निर्माणको कार्य अघि बढाउने मनस्थितिमा देखिएको छ । यही जोसका साथ मन्त्री परिषदले क्यानको योजनालाई प्राथमिकतामा राखेर नयाँ समिति गठन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्