रानी पोखरीलाई बिहानमा खोल्ने तयारी, रात्रीकालीन प्रकाश राखेर साँझमा सुन्दरता बढाइने « Arthapath.com
१२ भाद्र २०८१, बुधबार

रानी पोखरीलाई बिहानमा खोल्ने तयारी, रात्रीकालीन प्रकाश राखेर साँझमा सुन्दरता बढाइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले रानी पोखरीलाई विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ । रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेका हो ।

बुधवार निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पोखरीलाई ‘रात्रीकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउने बताए ।

अवलोकनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरु विष्णुप्रसाद जोशी र मनोजप्रसाद लामिछाने, नगर प्रहरी नायव उपरीक्षक मीन थापासहित अधिकारीहरु सहभागी थिए ।

रानीपोखरीको अवलोकनपछि वडा नं. २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग भेटेर रानीपोखरी खुला गर्ने विषयमा छलफल गरिएको थियो । त्यस क्रममा वडाध्यक्ष खड्गीले, रानीपोखरीलाई हिँडडुलका लागि उपलब्ध गराएपछि स्थानीयबासीलाई खुला ठाउँ प्राप्त हुने बताए ।

त्यस क्रममा खड्गीले, वडा कार्यालय भवन साँघुरो भएकोले स्थानान्तरण गर्नु पर्ने, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न केन्द्रबाट सहयोग गर्नु पर्ने, वडा र केन्द्रका पूर्वाधार निर्माणका काममा समन्वय बढाउनु पर्नेमा जोड दिँदै स्थानीय पूर्वाधार निर्माणका विषयमा जानकारी गराएका थिए ।

सोही अवसरमा स्वास्थ्य विभागका प्रमुख दिपक के.सी. लाई फोन सम्पर्क मार्फत आउँदो ७ दिनभित्र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न निर्देशन दिइएको छ।

रानी पोखरीको विगत

निर्माण कालमा करीब ५ बर्ष लगाएर यो पोखरी निर्माण गराएको थ्यासफूमा उल्लेख पाइन्छ । ई.सं. १६६७ जनवरी (७८७ पोहेलागा ४) अर्थात् वि.सं. १७२३ पौष कृष्ण ४ (अमान्तमान) का दिन पोखरीको शिलान्यास भएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीलाई नेपाल संबत् ८११ ई.सं. १६११) बाट न्हुरपुखुर (न्हुपुखु) भनिएको मानिन्छ ।

पोखरीको पूर्वमा त्रिचन्द्र कलेज र घण्टाघर, पश्चिममा दरबार हाईस्कूल, उत्तरमा जमल र दक्षिणमा शान्ति वाटिका रहेको छ । मन्दिर, पुलसहित २०,७०८ स्वायर मिटर क्षेत्रफलमा रहेको पोखरी १.६८ मिटर गहिरो छ । बालगोपालेश्वर मन्दिरको उचाई १६.१५ मिटर छ ।

वि. सं. २०७२ सालको भूकम्पले जीर्ण भएपछि पोखरीको पुननिर्माण गरिएको हो । पुननिर्माणको पहिलो चरणमा पोखरी र विचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण गरिएको थियो । उपभोक्ता समितितर्फ गरिएको काममा, पोखरीको पिँधमा ८ हजार ५७४ दशमलव १३ घनमिटर कालीमाटी राखिएको छ । यसको लागत ८ करोड १५ लाख रुपैयाँ हो ।

पुननिर्माणको परियोजना ३१ हजार ४७३ बर्गमिटर क्षेत्रफलमा थालिएको थियो । २०७५ चैत ११ गतेबाट थालिएको काम २०७७ साउन ३० गते सकिएको थियो । ठेक्कातर्फ बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करीव २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । २०७६ असार २८ गते सम्झौता गरेर थालिएको काम २०७७ असोज ३० गते सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्