पूर्व उद्योगमन्त्री विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाईका लागि भवन निर्माण गरिदिएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराह मन्दिर परिसरमा नेता विश्वकर्माले आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा ’टिका–बखत भवन सामुदायिक भवन’ निर्माण गरेका हुन् ।
आइतबार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको उद्घाटन गर्दै बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरे । नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाईको सेवा सञ्चालन गर्नेछ ।
हाल कांग्रेसको केन्द्रीय सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुखसमेत रहेका नेता विश्वकर्माले आफ्ना स्वर्गीय आमा टिकामाया र स्वर्गीय बखत्बहादुरको सम्झनामा उक्त भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि करिब ६० लाख रुपैयाँ खर्च भएको छ। बराह क्षेत्र मन्दिरमा आउने भक्तजन्, तीर्थालुसहित स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको नेता विश्वकर्माले बताए ।
’दुई वर्ष लगाएर यहाँ भवन निर्माण भएर अब सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको अवस्था बनेको छ । यसले मन्दिरमा आउने धर्मावलम्बी र स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्नका लागि सहज हुन्छ भन्ने अपेक्षा राखेको छु,’ उनले भने ।
भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले मन्दिर क्षेत्रको पवित्रस्थलमा सेवाभावले भवन निर्माण गरी अब स्वास्थ्य इकाई सञ्चालन हुन लागेकोप्रति खुसी व्यक्त गरे । उनले भवन निर्माणकालागि विश्वकर्मा परिवारको प्रशंसा समेत गरे ।
सो अवसरमा जोखिममा रहेको बराह क्षेत्र बचाउन बराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र समेत बुझायो । बराहक्षेत्र मन्दिर परिसर र बस्ती नै गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले जोखिममा परेको उनीहरूको भनाइ छ । भवनमा बिरामी जाँच कक्ष, स्वास्थ्यकर्मी आवास, सभाहल र पाहुना कक्ष समेत रहेका छन् ।