तीन वर्षपछि निर्माण क्षेत्रमा सुधारको संकेत, जीडीपी योगदान ५.२४ प्रतिशत पुग्ने « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

तीन वर्षपछि निर्माण क्षेत्रमा सुधारको संकेत, जीडीपी योगदान ५.२४ प्रतिशत पुग्ने



काठमाडौं । मुलुकको निर्माण क्षेत्रमा सुधारको संकेत देखिएको छ । तीन वर्षयता देखिएको ऋणात्मक वृद्धिदरबाट देशको निर्माण क्षेत्र बाहिरिँदै गरेको हो ।

चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५.२४ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ ।

केन्द्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको राष्ट्रिय लेखा सम्वन्धी वार्षिक तथ्याङकले यस्तो देखाएको हो ।

त्यस्तै, यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । विगत दुई वर्षदेखि निर्माण क्षेत्र निरन्तर ऋणात्मक वृद्धिदरमा थियो ।

आर्थिक वर्ष २०७९–८० मा १.४८ प्रतिशत नकारात्मक वृद्धिदर देखिएको थियो । त्यसपछि आव २०८०–८१ मा झन् ऋणात्मक वृद्धिदर बढेको देखिन्छ । सो आवमा २.२० प्रतिशतको ऋणात्मक वृद्धिदर कायम भएको सरकारी संशोधित तथ्याङ्कमा उल्लेख छ ।

तर, चालु वर्षको सकारात्मक वृद्धिदरको अनुमानले निर्माण क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको संकेत गरेको छ ।

निर्माण सामग्रीको आयातमा भएको वृद्धि र निर्माणजन्य औद्योगिक वस्तुहरुको उत्पादनमा आएको सुधारले यो सकारात्मक संकेत दिएको हो । विशेषगरी सिमेन्ट, फलामे सामग्री, र पेन्ट लगायतका वस्तुहरूको मागमा बढोत्तरी देखिएको छ । भौतिक पूर्वाधारमा सरकारको लगानी पनि बढेको छ । यता, निजी क्षेत्रको निर्माण योजनाहरू पुनः सक्रिय भएका छन्, जसले केही हदसम्म यस क्षेत्रलाई चलायमान बनाउन टेवा पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ, जसले निर्माण क्षेत्रलाई सशक्त बनाउन मद्दत गरेको हो । लामो समयदेखि निर्माण क्षेत्रको समस्या बनेको बजेट कार्यान्वयनमा ढिलाइ, वातावरणीय स्वीकृति लगायतका प्रक्रियागत अड्चनहरू केही हदसम्म सुधार भएपछि पनि निर्माण क्षेत्रको अवस्था सुध्रिएको देखिन्छ ।

आर्थिक गतिविधिको मेरुदण्ड मानिने निर्माण क्षेत्रले तीन वर्षपछि देखाएको यो प्रारम्भिक सुधारले समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्