५१ प्रतिशत लाभांश पारित गर्न नेपाल लाइफको एजिएम माघ २८ गते, शेयर मूल्य घटाएर ५० रुपैयाँ कायम गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २० औँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट सुरू हुने छ ।
सभामा आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभामा कम्पनीको प्रति शेयर मूल्य हाल १ सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पेश हुँदैछ । यस प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुने छ ।
त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । कम्पनीको आर्थिक वर्ष २०७५र७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू छलफल गरी पारित गरिनेछ ।

