नियामकको निर्देशन विपरित जनरल इन्स्योरेन्सले सीईओ नियुक्त गरेन, नेप्सेका सीईओ साउदलाई कुर्दै « Arthapath.com
४ असार २०७८, शुक्रबार

नियामकको निर्देशन विपरित जनरल इन्स्योरेन्सले सीईओ नियुक्त गरेन, नेप्सेका सीईओ साउदलाई कुर्दै



काठमाडौं । नियामक निकाय बीमा समितिले गएको चैत मसान्तसम्म सबै बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । उक्त निर्देशन पालना गर्दै प्रमुख कार्यकारीको पद रिक्त रहेका अधिकांश कम्पनीले निर्धारित समयमै सीईओ नियुक्त गरेका छन् ।

तर जनरल इन्स्योरेन्सले भने उक्त निर्देशनको पालना नगरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले भने, ‘जनरल इन्स्योरेन्सलाई हामी पुनः सीईओ नियुक्त गर्न पत्राचार गर्ने तयारीमा छौं ।’ पछिल्लो समय सेयर बजारमा गैरकानूनी ढंगले क्षमताभन्दा बढी लगानी गरेर विबादमा आएको जनरल इन्स्योरेन्सले स्थापनादेखि नै सीईओ नियुक्त गरेको छैन ।

बीमा क्षेत्रमा सीईओको खडेरी देखिने पुरानै समस्या हो । तर पछिल्लो समय निर्धारित योग्यता पुगेका जनशक्ति बजारमा बढ्न थालेका छन् । जनशक्ति उपलब्ध भए पनि सञ्चालकहरुको छनोटमा पर्न नसक्दा कतिपय कम्पनीमा सीईओ रिक्त रहँदै आएको थियो । विगतमा जस्तै यस पालि पनि बीमा समितिले सबै बीमा कम्पनीलाई निर्धारित समयभित्र सीईओ नियुक्त गर्न निर्देशन दियो ।

स्रोतका अनुसार जनरल इन्स्योरेन्सको सीईओका रुपमा हाल नेप्सेको सीईओ रहेका चन्द्रसिंह साउद जाने तयारी छ । नेप्सेमा उनको कार्यकाल आगामी २२ असोजमा सकिँदै छ । त्यसलगत्तै उनी जनरल इन्स्योरेन्स जाने पक्कापक्कीजस्तै रहेको इन्स्योरेन्सका एक सञ्चालकले बताए । उक्त कम्पनीको प्रबद्र्धकमध्ये एक समूहसँग साउदको निकै राम्रो सम्बन्ध रहेको ती सञ्चालक बताउँछन् ।

सेयर बजारमा लगानी गर्ने उक्त प्रबद्र्धक समूहलाई साउदले ‘आवस्यक सहयोग’ गर्दै आएको उनी बताउँछन् । तर त्यो आवस्यक सहयोग भनेको के हो भन्ने चाहीँ उनले खुलाएनन् । यद्यपि, एकातिर साउदलाई कुर्नुपर्ने र अर्कातिर बीमा समितिको निर्देशन पालना गर्नुपर्ने चेपुवामा अहिले कम्पनी परेको छ । सञ्चालक समितिमा पनि यसबारे विबाद भइरहेको ती सञ्चालक बताउँछन् ।

जनरल इन्स्योरेन्समा पहिले देखि नै सञ्चालक समितिमा विबाद छ । यसअघि एउटा पक्षले खिलुङ कालिका एग्रो फार्मलाई बीमा दाबी भुक्तानी दिन सहयोग गरेको थियो । उक्त फार्मको मरेका कुखुराको बीमा गरेर पुनरर्बीमा कम्पनीबाट दावी स्वीकृत नहुँदै ठूलो रकम भुक्तानी गरेको भनेर अहिले अनुसन्धान भइरहेको छ ।

अर्को समूहले भने बैधानिक अनुपातभन्दा बढी रकम सेयर बजारमा लगानी गरेर कम्पनीलाई जोखिममा धकेलेको आरोप छ । यस मुद्दामा पनि अहिले अनुसन्धान भइरहेको छ । केही प्रबद्र्धकले आफूले कुनै कम्पनीको सेयर किन्ने र त्यही सेयरमा बीमा कम्पनीको लगानी गरेर भाउ बढाउने गरेको पाइएको कम्पनीका अधिकारी बताउँछन् ।

सञ्चालक समितिको परस्पर विबादमा जोखिमपूणर् बन्दै गएको जनरल इन्स्योरेन्स अहिले सीईओ नियुक्तिको विबादमा फसेको छ । केही समय अघिमात्रै आईपीओ जारी गरेको यो कम्पनी अहिले सेयरको दोस्रो बजारमा न्यून पर्फर्म गर्ने निर्जीवन बीमा कम्पनीको रुपमा पर्छ ।


प्रतिक्रिया दिनुहोस्