बीमा कम्पनीमाथि नत्थि लगाउने प्रयासमा बीमा समिति, दियो यस्तो निर्देशन « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

बीमा कम्पनीमाथि नत्थि लगाउने प्रयासमा बीमा समिति, दियो यस्तो निर्देशन



काठमाडौं । बीमा समितिले मातहतका बीमा कम्पनीलाई संस्थागत सुशासनमा कडाइ गर्न निर्देशन दिएको छ । विहीबार एक निर्देशन जारी गर्दै समितिले कम्पनीहरुलाई उत्तराधिकारी योजना र कर्मचारी सरुवालाई व्यवस्थित गर्न भनेको छ ।

बीमा कम्पनीहरुमा स्थापना कालदेखि नै उत्तराधिकारीको चरम अभाव हुँदै आएको छ । यसले नेतृत्व र त्यसपछिका कर्मचारीबीचमा निकै ठूलो खाडल रहँदै आएको छ । जसका कारण बीमा कम्पनीहरु पटक पटक नेतृत्वबिहिन अवस्थाबाट गुज्रिँदै आएका छन् ।

बीमा समितिले निश्चित समय दिएर प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न दबाब दिइरहनुपर्ने अवस्थालाई अन्त्य गर्न यस्तो नीति लिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिले उत्तराधिकारी योजना तयार पारेर बीमा कम्पनीहरुको सञ्चालक समितिले पारित गर्न भनेको छ । त्यसरी पारित गरेको योजना बीमा समितिमा बुझाउनु पर्ने छ । त्यस्तै, बीमा कम्पनीहरुलाई अण्डरराइटिङ, दाबी, लगानी, लेखा र पुनर्बीमाजस्ता महत्वपूर्ण विभाग तथा शाखामा कार्यरत कर्मचारीलाई ५ वर्षभित्र सरुवा गरिसक्न पनि निर्देशन दिएको छ ।

निर्देशनमा कर्मचारी आलोपालो सहितको सरुवा नीति तयार पारेर सञ्चालक समितिबाट स्वीकृत गर्न र त्यस्तो विवरण समितिमा पेश गर्न पनि भनिएको छ । कम्पनीहरुले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट सञ्चालक समितिमा त्रैमासिक रुपमा समीक्षा गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गरेको (दिएको) अधिकार र प्रमुख कार्यकारीले विभागीय एवम् शाखा प्रमुखहरुलाई प्रत्यायोजन गरेको अधिकारका बारेमा पनि समितिलाई जानकारी दिनुपर्ने भनिएको छ ।

यसका साथै प्रत्येक आर्थिक वर्ष समाप्त भएको १० महिनाभित्र लेखापरीक्षण गरेर त्यसको प्रतिवेदन बीमा समितिमा पेश गर्न निर्देशन दिइएको छ । लेखापरिषण प्रतिवेदनसँगै वार्षिक साधारणसभा सम्पन्न गर्ने मार्गचित्रसमेत सञ्चालक समितिबाट स्वीकृत गरेर पेश गर्नुपर्ने निर्देशन नियामकले दिएको छ । त्यसो नगरे वित्तीय विवरण स्वीकृत गर्न कठिनाइ पर्ने समितिले भनेको छ ।

बीमा समितिका निर्देशक दिनेशकुमार लालले बीमक (बीमा कम्पनीहरु)को कार्यसञ्चालन प्रक्रियालाई प्रभावकारी, पारदर्शी, सरलिकृत र व्यवस्थित बनाएर एकरूपता प्रदान गर्न यस्तो निर्देशन जारी गरिएको बताए । समितिले यसखाले निर्देशन नेपालमा १९ जीवन बीमा कम्पनीहरुलाई दिएको हो ।


प्रतिक्रिया दिनुहोस्