बीमालेख धितोमा ५० अर्ब कर्जा, निर्देशिका मिचेर बढी ब्याज
काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षसम्ममा बिमालेख धितोमा करीब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बिमितले आफूले खरीद गरेको बीमालेख धितो राखेर ऋण लिन सक्ने कानूनी व्यवस्था छ । यस्तो कर्जा आफूले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म लिन सकिन्छ ।
बीमालेख बाहेक अन्य धितो राख्न नपर्ने भएकाले बैंकको तुलनामा ऋण लिने प्रक्रिया सहज हुने गर्छ । तर बीमा कम्पनीहरुले निर्देशिकाको व्यवस्था लत्याएर महँगो ब्याजदर अशुल्ने गरेको पाइएको छ । बीमा समितिले पहिलो पटक गत असारमा जारी गरेको निर्देशन अनुसार कर्जाको ब्याजदर बाणिज्य बैंकले तोकेको प्रचलित ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने छ ।
तर जीवन बीमा कम्पनीहरुले अहिले बाणिज्य बैंकले दिएभन्दा निकै महँगो ब्याजदरमा ऋण प्रवाह गरिरहेको पाइएको छ । अमेरिकन जीवन बीमा कम्पनी मेट लाइफले बीमालेख धितोमा ऋण लिने आफ्ना ग्राहकसँग १२ प्रतिशत ब्याज अशुल्दै आएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान र निजि क्षेत्रद्वारा प्रबद्र्धित एसियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले पनि ११ प्रतिशत ब्याज लिइरहेका छन् ।
बाँकी १५ जीवन बीमा कम्पनीले भने १० प्रतिशत ब्याज लिइरहेको पाइएको छ । जबकी, अहिले बाणिज्य बैंकले ८ प्रतिशत हाराहारीमा ऋण दिइरहेका छन् । बीमा कम्पनीका अधिकारीहरुले भने विगतमा बैंकको ब्याजदर १० प्रतिशतभन्दा बढी भएकाले त्यही स्तरमा ब्याजदर तोकिएको बताए ।
‘बैंकहरु तरलताको आधारमा ब्यादर तलमाथि गरिरहन्छन् । उनीहरुले ग्राहक र धितोका आधारमा ब्याजदर थपघट पनि गर्छन्,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘बीमा कम्पनीले त्यसरी ब्याजदर परिमार्जन नगरिरहने भएकाले अहिलेको अवस्थामा बढी देखिएको हो ।’ विस्तारै बैंकको ब्याजदर बढ्दै गएपछि बीमा कम्पनीले लिने ब्याजदर आफैं सस्तो पर्न जाने बताए । यद्यपि, यो दर अहिलेभन्दा केही क मगर्न सकिने अवस्था रहेको उनले बताए ।


















