पहिलो त्रैमासमा १८.२८ प्रतिसतले बढ्यो जीवन बीमा कम्पनीहरूको प्रिमियम, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले उल्लेख्य प्रिमियम बढाएका छन् । कोरोनाका कारण धेरै बीमितको व्यवसाय चौपट भएको बेलामा पनि बीमा कम्पनीको प्रिमियम भने उल्लेख्य बढेको हो ।
जीवन बीमा कम्पनीहरूले गत आवको पहिलो त्रैमासको भन्दा १८.२८ प्रतिसतले बढाउन सफल भएका छन् । चालु आवको पहिलो त्रैमासमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ४७ अर्ब ८७ करोडको प्रिमियम सङ्कलन गर्न सफल भएका छन् । बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ३९ अर्ब ८६ करोड बीमा शुल्क सङ्कलन गरेका थिए ।
जसमा जीवन बीमा कम्पनीहरूको ग्रोथ गत आवको भन्दा १८.२८ प्रतिसतले बढ्न सफल भएको छ । यस आवको पहिलो ३ महिनामा जीवन बीमा कम्पनीहरूको मात्रै ३८ अर्ब १८ करोड बीमा शुल्क सङ्कलन गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ३२ अर्ब २८ करोड बीमा शुल्क सङ्कलन गरेका थिए ।
बीमा सुल्क सङ्कलन गर्ने जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । नेपाल लाइफले मात्रै गएको ३ महिनामा ९ अर्ब ९० करोड बीमा शुल्क सङ्कलन गर्न सफल भएको छ । दोस्रो स्थानमा रहेको एलआइसि नेपालले गत तीन महिनामा ५ अर्ब २५ करोड बीमा शुल्क सङ्कलन गर्न सफल भएको छ ।
सरकारी कम्पनी राष्ट्रिय बीमा संस्थान पनि पछिल्लो समय आक्रामक बजारमा देखिएको छ । संस्थानले गत तीन महिनामा ४ अर्ब ५३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै गत वर्ष दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो ३ महिनामा भने चौथो स्थानमा पुगेको छ । नेशनल लाइफले गत ३ महिनामा ३ अर्ब ४५ करोड बीमा शुल्क आर्जन गरेको छ ।
बीमा शुल्क सङ्कलनको पाँचौँ नम्बरमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । नयाँ कम्पनी भएर पनि युनियनले धेरै पुराना कम्पनीलाई पछि पारेको छ । युनियनले ३ महिनामा १ अर्ब ८९ करोड बीमा शुल्क सङ्कलन गरेको छ ।
चालू आर्थिक वर्षको ३ महिनामा एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ५९ करोड, मेट लाइफ इन्स्योरेन्सले १ अर्ब २९ करोड, सूर्या लाइफ इन्स्योरेन्सले १ अर्ब १४ लाख, प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब १८ करोड, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड, गुराँस लाइफ इन्स्योरेन्सले ८७ करोड १९ लाख, ज्योति लाइफ इन्स्योरेन्सले ८० करोड ७५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ९७ करोड १० लाख, न नेपाल लाइफ इन्स्योरेन्सले ९२ करोड ३१ लाख, रिलायन्स लाइफ इन्स्योरेन्सले ७९ करोड ९७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९२ करोड ३१ लाख, आइएमई लाइफ इन्स्योरेन्सले ८० करोड ७२ लाख, सानिमा लाइफ इन्स्योरेन्सले ५५ करोड ९२ लाख, प्रभु लाइफ इन्स्योरेन्सले ५७ करोड ७१ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३३ करोड ६३ लाख बीमा शुल्क आर्जन गरेका छन् ।