अब बीमा कम्पनीले विदेशमा पुनर्बीमा गराउन नपाउने, नेपाली कम्पनीले स्वीकार गरेमात्रै विदेशीलाई खुल्ला « Arthapath.com
१० मंसिर २०७८, शुक्रबार

अब बीमा कम्पनीले विदेशमा पुनर्बीमा गराउन नपाउने, नेपाली कम्पनीले स्वीकार गरेमात्रै विदेशीलाई खुल्ला



काठमाडौं । अबदेखि नेपालका बीमा कम्पनीले विदेशमा पुनर्बीमा गराउन नपाउने भएका छन् । बीमा समितिले ९ मंसिरमा सबै बीमा कम्पनीलाई यस्तो निर्देशन दिइसकेको छ । समितिले यसअघि सरकारी स्वामित्वमा नेपाल रिइन्स्योरेन्स कम्पनी खुल्दा कुल प्रिमियमको २० प्रतिशत पुनर्बीमा स्वदेशमा गराउनुपर्ने भनेको थियो ।

हालैमात्र राज्यको माथिल्लो तहमा पकड भएका र व्यक्ति र ब्यापारीक समूह मिलेर हिमालयन रिइन्स्योेरेन्स खोलेपछि उक्त पुनर्बीमा कम्पनीको व्यापार सुरक्षा गर्न नयाँ निर्देशन दिएको हो । अब २० प्रतिशतको पुरानो व्यवस्था कायम राख्दै बाँकी सबै पुनर्बीमा स्वदेशी कम्पनीमै गराउनु पर्ने भएको छ । नयाँ निर्देशन अनुसार नेपाली पुनर्बीमा कम्पनीले कुनै खास पुनर्बीमा गराउन नसक्ने भनेर लिखित जवाफ दिएपछिमात्रै विदेशी कम्पनीमा पुनर्बीमा गराउन पाइने छ ।

स्वदेशी पुनर्बीमकले कुनै पुनर्बीमा अस्वीकार गरेको खण्डमा त्यसरी अस्वीकार गरेको ‘अंश’को पुनर्बीमामात्रै विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने निर्देशनमा उल्लेख छ । यसले कुनै एक बीमा योजनाको नभइ त्यस योजनाभित्र पनि सीमित बीमालेख अर्थात् अंशको हकमामात्र यो नियम लागू हुने छ ।

बीमा कम्पनीले सिधै गएर ‘स्वदेशी कम्पनीले मानेनन्’ भन्दैमा विदेशी कम्पनीलाई ब्यवसाय दिन अव सम्भव हुँदैन । विदेशी पुनर्बीमक कम्पनीमा पुनर्बीमा गर्दा बीमा कम्पनीले पनि प्रिमियम तिर्नुपर्छ । यस्तो प्रिमियम विदेशी मुद्रामै तिर्नुपर्ने हुन्छ । जसका लागि नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्राको सटही सुविधा लिनु पर्छ ।

राष्ट्र बैंकले बीमा समितिको सिफारिस बिना यस्तो सुविधा कम्पनीहरुलाई दिँदैन । समितिले नयाँ निर्देशनमा भनेको छ, ‘विदेशी पुनर्बीमा कम्पनीलाई भुक्तानी गर्नका लागि समितिसँग पुनर्बीमा सटही सिफारिस माग गर्दा स्वदेशी पुनर्बीमा कम्पनीले अस्वीकार गरेको प्रमाण पेश गर्नु पर्ने छ ।’

बीमा क्षेत्रका जानकारहरु यसरी पुनर्बीमाको ब्यापार नेपाली कम्पनीलाई मात्र दिँदा ठूला संकटमा बीमा व्यवसाय धरासायि हुनसक्छ । एकै पटक धेरै ठूलो दायित्व भुक्तानी गर्नुपर्ने अवस्था आउँदा बीमा कम्पनी र पुनर्बीमा कम्पनी टाटपल्टिन सक्छन् ।

बीमा कम्पनीमा हामीले कुनै पनि बीमा गरेपछि ती कम्पनीले सबै जोखिम आफैं थेग्न सक्दैनन् । आफ्नो सामथ्र्यभन्दा ज्यादा बीमा भएपछि त्यस्तो जोखिमलाई बीमा कम्पनीले पनि पुनर्बीमा कम्पनीमा सार्छन् । उदाहरणका लागि कुनै बीमा कम्पनीले १ करोडको बीमा गरेको छ भने त्यसमध्ये २५ लाख रुपैयाँ बराबरको जोखिम आफैं राख्छ । बाँकी ७५ लाख बराबरको जोखिम आफ्नो सामथ्र्यले भ्याउँदैन भने पुनर्बीमा कम्पनीमा ७५ लाखको जोखिम बोकिदिन बीमा गर्छन् । यसलाई पुनर्बीमा भनिन्छ ।

यस्तो पुनर्बीमा नेपालका पुनर्बीमा कम्पनीले पनि गर्न सक्छन् । ताकी, भविष्यमा हुने ठूलो जोखिमले आफ्नो कम्पनी टाट पल्टिनबाट बचोस् । बीमा समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले ‘नयाँ निर्देशनमा नेपाली कम्पनीलाई कति प्रतिशत थप व्यवसाय दिनुपर्ने उल्लेख नभए पनि स्वदेशी पुनर्बीमकले अस्वीकार गरेको पुनर्बीमामात्रै विदेशी कम्पनीलाई दिन पाइने भनिएको’ बताए ।

यस्तो नियमको एक महत्वपूर्ण फाइदा चाहीँ पुनर्बीमाको नाममा विदेशमा जाने ठूलो रकम स्वदेशमा बच्न सक्छ । यहाँको पुनर्बीमा कम्पनीले नाफा कमाउन सक्छ । पुनर्बीमा कम्पनीमा नयाँ रोजगारी सिर्जना हुनसक्छ । यही व्यवसायबाट नेपालमा राजश्व बढ्न सक्छ । विदेशी कम्पनीलाई विदेशी मुद्रामै भुक्तानी गर्नुपर्ने भएकाले नेपालीले खाडीमा दुःख गरेर पठाएको रेमिट्यान्सबाट आर्जित विदेशि विनिमय राज्यको ढुकुटीबाट बाहिरिने क्रम थोरै भए पनि रोकिन्छ । अर्थात् विदेशी मुद्राको ढुकुटी रित्तिने क्रम केही सुस्त हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्