बीमक संघको अध्यक्ष बन्दै क्षेत्री, महासचिवमा पर्याे रसाकस्सी

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीलाई नेपाल बीमक संघको अध्यक्ष बनाउने सहमति भएको छ । शुक्रबार हुने साधारणसभाले क्षेत्रीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको एक सीईओले अर्थपथलाई बताए ।
वर्तमान कार्यसमितिका महासचिव रहेका क्षेत्री अध्यक्ष बन्ने लगभग सहमति भएको छ । यता सिद्धार्थ इन्स्योरेन्सका सीईओ रहेका वीरेन्द्र बहादुर बैदवारलाई संघको उपाध्यक्ष बनाउने सहमति भएको छ ।
महासचिवमा भने ठुलै रस्साकस्सी नै चलेको छ । महासचिव पदका लागि धेरै जना आकाङ्क्षी बनेपछि सहमति हुन सकेको छैन । महासचिव पदका लागि ४ जनाले दाबी गरेका छन् ।
महासचिवमा अजोड इन्स्योरेन्सका सीईओ कुमार बहादुर खत्री, वर्तमान कार्यसमितिका कोषाध्यक्ष रहेका आइएमई जनरल इन्स्योरेन्सका योगेशभक्त बादे श्रेष्ठ, नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का र एभरेस्ट इन्स्योरेन्सका सीईओ कमल गौतमले दाबी गरेका छन् । यी ४ जनामध्ये महासचिव र कोषाध्यक्षमा एड्जष्ट हुने बताइएको छ ।
संघमा २ कार्यकाल अध्यक्ष रहेका दिपप्रकाश पाण्डेको कार्यकाल सकिएपछि साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । संघले बीमा क्षेत्रमा देखिएका समस्याहरुको बारेमा संस्थागत रुपमा सहजीकरण गर्दै आएको छ ।