बीमा कम्पनीलाई जलवायु जोखिमको विवरण अनिवार्य सार्वजनिक गर्न बीमा समितिको निर्देशन « Arthapath.com
११ माघ २०७८, मंगलवार

बीमा कम्पनीलाई जलवायु जोखिमको विवरण अनिवार्य सार्वजनिक गर्न बीमा समितिको निर्देशन



काठमाडौं । बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले आउँदो आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी निर्देशिका जारी गरेको हो ।

बीमा समितिले जारी गरेको जलवायु सम्वन्धी निर्देशिकाले जलवायु परिवर्तनबाट पर्ने प्रभाव न्यूनिकरण गर्नको लागि हो । बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नको लागि निर्देशिका जारी गरेको हो । त्यस्तै, जलवायु परिवर्तनबाट बीमकहरुमा आईपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्यांकन गर्न आवश्यक रहेकोले बीमा ऐन २०४९ को दफा ८ (घ२) अनुसार निर्देशिका जारी गरेको जनाएको छ ।
निर्देशिका अनुसार बीमा कम्पनीहरुले जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाई वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएको छ । प्रतिवेदन पेश गर्न नसकेमा बीमकले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन वा जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका लागू भएको मितिले ३ वर्ष पूरा भएपछि बीमकले नयाँ बीमा योजना तयार गर्दा सोको बीमाशुल्क निर्धारणमा जलवायु जोखिमलाई कसरी समाविष्ट गरिएको छ, सोसमेत स्पष्टरुपमा खुलाउनुपर्ने छ ।

बीमा कम्पनीहरुले जलवायु जोखिमको प्रभाव सम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत प्रकाशित गर्नुपर्नेछ । त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना ग्राहकवर्गलाई सुझाव दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्