३५ प्रतिशत नेपालीमा जीवन बीमा पहुँच पुग्यो, कार्यालय संख्या १५.२१ % र कर्मचारी संख्या १०.७१ % बढ्यो

काठमाडौं । पछिल्लो एक बर्षमा ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनासम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत जनसंस्ख्या बीमाको दायरमा आएका छन् । जसमा म्यादि र बैदेशिक रोजगार जीवन बीमालेख पनि समावेश गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा २४.८६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए ।
बीमा समितिको तथ्याङ्क अनुसार कुल जीवन बीमा लेख संख्या ४२.९२ प्रतिशत बढेर १ करोड १० लाख ४१ हजार ८८ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कुल जीवन बीमा लेख संख्या ७७ लाख २५ हजार २६४ रहेको थियो ।
त्यस्तै, पौष मसान्तसम्ममा कुल निर्जीवन बीमा लेख संख्या ०.८४ प्रतिशत घटेर १४ लाख ८५ हजार ८५१ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा १४ करोड ९८ लाख ४५१ कुल निर्जीवन बीमा संख्या रहेको थियो ।
पौष मसान्तसम्ममा जीवन बीमा शुल्क संकलन १२.२१ प्रतिशत बढेर ७० अर्ब ९१ करोड ३९ लाख ६२ हजार रुपैयाँ र निर्जीवन बीमा शुल्क संकलन १९ अर्ब ९ करोड ८२ लाख ६ हजार रुपैयाँ गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा जीवन बीमा शुल्क संकलन ६३ अर्ब २० करोड रुपैयाँ र निर्जीवन बीमा शुल्क संकलन १५ अर्ब २० करोड रुपैयाँ गरेका थिए ।
पौष मसान्तसम्ममा जीवन बीमा शुल्क र निर्जीवन बीमा शुल्क आर्जन १४.८१ प्रतिशत बढेर ९० अर्ब १ करोड २१ लाख ६८ हजार रुपैयाँ गरेका छन् । गत आर्थिक बर्षको पौष मसान्सम्म ७८ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।
संख्याको आधारमा पछिल्लो १ वर्षमा ३१ लाख ५७ हजार ८६९ जना नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आवको पुस मसान्तसम्म ७३ लाख ७६ हजार ६६० जना नेपाली बीमाको दायरामा थिए । चालू आवको पुस मसान्तसम्म त्यो संख्या १ करोड ५ लाख ३४ हजार ५२९ पुगेको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको पुसम्ममा जीवन बीमालेख संख्या (म्यादी र बैदेशिक रोजगार बीमा बाहेक) ४५.३१ प्रतिशत बढेर ४५ लाख ८८ हजार २८६ वटा बीमालेख जारी गरेको समितिको तथ्यांक छ । त्यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि २० प्रतिशत बढेर ९ लाख ९ हजार ९०९ वटा जारी गरेको बीमा समितिले जनाएको छ ।
त्यस्तै, समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुको कार्यालय संख्या १५.२१ प्रतिशत र कर्मचारी संख्या १०.७१ प्रतिशत बढेको छ ।
