राष्ट्रिय बीमा कम्पनी छुट्टिएपछि तथ्यांक यताउता भयो, चालु आवभित्र सम्पन्न गर्छाै: कावा अध्यक्ष
काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ बर्ष पूरा गरी ५५ औं बर्षमा प्रवेश गरेको छ । बुधबार सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रमममा बोल्दै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले १५ बर्ष अघि संस्थानमा अल्झिएको बिषय नै आजसम्म समस्याको जड बनेर रहेको बताएका छन् । संस्थानमा रहेको समस्यालाई तत्काल सुल्झाउन अर्थसचिव मरासिनीले निर्देशन दिए ।
मरासिनीका अनुसार जहाँ चुनौती छ, त्यहाँ आफनो अस्तिव देखाउन सकिन्छ, समस्या नै नभएको स्थानमा कसरी आफनो अस्तिव देखाँउने भन्दै लामो इतिहास बोकेको संस्थालाई नडगमगाउन दिन आग्रह गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले लामो समयदेखि बाँकी रहेको लेखापरीक्षण र साधारणसभा सम्पन्न गर्न चुुस्त रूपमा लागिरहेकोे बताए । राष्ट्रिय बीमा कम्पनी हामीसँग छुट्टिएपछि तथ्यांक पनि यताउता भएकोले समस्या आएको उनले बताए । बीमाशुल्क हाम्रोमा छ भने भुक्तानी कम्पनीबाट भएको उनको भनाई छ । उनले भने, ‘उता बीमाशुल्क छ भने भुक्तानी हाम्रोबाट भएको छ । यी र यस्ता समस्याका कारण साधारणसभा तथा लेखापरीक्षण सम्पन्न गर्न चुनौती छ । तर, यो चालु आर्थिक बर्ष भित्र लेखापरीक्षण र साधारणसभा सम्पन्न गर्छाै ।’
लेखापरीक्षण र साधारणसभा हुन सकेन भनेर त्यसमै मात्र केन्द्रित नभएको उनले बताए । साथै कर्मचारीलाई प्रोत्साहन हुने र अभिकर्ताको लागि नयाँ नीति ल्याउने तयारी भईरहेको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि मधुकुमार मरासिनी ,बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशकको उपस्थितीमा रहेको थियो ।


















