प्रभु लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न, शेयरधनी निराश !

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आज (चैत ६ गते, आइतबार) चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले होटल रेडिसन, लाजिम्पाट, काठमाडौंमा साभारण सभा बोलाएको थियो ।
यस वर्ष कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश वितरण नगर्ने भएपछि शेयरधनीलाई प्रभु लाइफले निराश बनाएको हो । कम्पनीले गत बर्ष मंसिरमा सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गरेको थियो ।
इन्स्योरेन्स कम्पनीको सभाले आर्थिक बर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७६–७७ को वित्तीय विवरण पारित गरेको छ ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७६–७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गरेको छ ।
साधारण सभा प्रयोजनार्थ फागुन २३ गते बुक क्लोज गरेको थियो । त्यसैले, फागुन २२ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन पाएका छन् ।