१५.७८ प्रतिशत लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सको सभा चैत्र ३० गते, बुक क्लोज कहिले ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत्र ८ गते बसेको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा चैत्र ३० गते बिहान १०ः३० बजे, नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौँमा बोलाएको हो ।
इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक बर्षको नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत अर्थात ८८ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, प्रबन्ध पत्रको दफा ५ को (ख) मा रहेको पूँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्ने, नियमावलीको नियम ५ को (ख) र (घ) मा रहेको पूँजी सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने, प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्देश्य अन्तर्गत (झ) सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने, निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने–गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, नियमावलीको नियम २८ को उपनियम १ मा रहेको सञ्चालकलाई प्रदान गरिने बैठक भत्ता सम्बन्धी व्यवस्थालाई संशोधन गरी बैठक भत्ता बृद्ध गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण, तथा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै, आर्थिक बर्ष २०७८–७ढ को लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ चैत १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्रै कम्पनीको लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।
